कैलालीको एक थारु गाउँ, जहाँका बच्चा भारतीय स्कुलमा पढ्छन्

सविता बुढा/सेतोपाटी
कैलाली हौसलपुरकी विमला चौधरी कक्षा १० मा पढ्छिन्। उनी पढ्न भारतको सरस्वती शिशु विद्या मन्दिरमा जान्छिन्।
‘हाम्रो गाउँका सबै केटाकेटी भारतमै पढ्छन्,’ उनले भनिन्।
उनीहरू कोही पैदल, कोही साइकल लिएर भारतको स्कुलमा १० मिनेटमै पुग्न सक्छन्।
‘हामी भारतमा पढ्ने भएकाले स्कुलमा हिन्दी, अंग्रेजी र संस्कृत पढ्छौं। नेपालमा नपढेकाले हामी नेपाली भाषा जान्दैनौं र बुझ्दैनौं,’ उनले भनिन्।
स्कुल भए गाउँमा पढ्ने उनले बताइन्। नेपाली भाषा सिक्न पनि जरूरी रहेको उनले बताइन्।
‘यदि हाम्रो गाउँमा पुल बनेको भए, स्कुल बनेको भए हामी नेपालमै पढ्न सक्थ्यौं,’ उनले भनिन्।
कैलालीको कैलारी गाउँपालिका-७ मा विमलाको गाउँ हौसलपुर पर्छ।
यो भारतसँग सिमाना जोडिएको बस्ती हो। यो बस्तीबाट नेपाल आउन मोहना नदी तर्नुपर्छ। मोहना नदीमा पुल छैन।
उनका बुवा राजकुमार हौसलपुर गाउँका चौकीदार हुन्। बस्तीमा करिब ५५ जना स्कुल पढ्ने केटाकेटी रहेको उनले बताए।
‘नेपालका स्कुल जान मिल्ने बाटो छैन हाम्रो गाउँमा,’ उनले भने, ‘पढाउन पठाउँ भने बाढी आउँछ यता। बाटो र पुल नभएका कारणले हामी टापुमा बसेका छौं। नेपाल जान नसकेर हामी केटाकेटीलाई भारतमै पढाउँछौं।’
गाउँमा स्कुल बने केटाकेटीलाई भारत नपठाउने उनी बताउँछन्।
हौसलपुर गाउँका भलमन्सा टिकाराम चौधरीले पनि गाउँमा स्कुल नभएकाले केटाकेटीलाई भारत पढ्न जानुपर्ने बाध्यता रहेको बताए।
‘उता हिन्दी सिक्छन् तर नेपाली बोल्न नै जान्दैनन्,’ उनले भने।
केटाकेटीलाई नेपालको पढाइ नभएर भविष्यमा समस्या पर्ने हो कि भन्ने चिन्तामा अभिभावक रहेको भलमन्सा चौधरीले बताए।
‘भारतमा त खाली पढ्छन् मात्र हाम्रा केटाकेटी, त्यहाँ जागिर खान र केही काम गर्न पहिले त प्रमाण हुनपर्यो,’ उनले भने, ‘नेपालको प्रमाण त छ तर भाषा र सर्टिफिकेट छैन।’
उनले बच्चा निरक्षर नहुन् भन्नलाई भए पनि बाध्यताले भारतका स्कुलमा पढाउनु परिरहेको बताए।
त्यहीँका पुष्पेन्द्र चौधरी भारतकै स्कुलमा बिए प्रथम वर्षमा अध्ययन गर्दैछन्। उनलाई नेपाली भाषा र किताब कस्तो हुन्छ थाहा छैन।
‘मलाई हिन्दी र थारु भाषा आउँछ,’ उनले भने।
भारतको पढाइले योग्यता बढाउन काम लागेको उनको भनाइ छ।
‘यहाँ भारतबाट बिहे गर्नुपरे पनि पढाइ काम लाग्छ,’ उनले भने।
भारतको पढाइले नेपालमा जागिर खान पाइन्छ कि पाइँदैन, उनलाई थाहा छैन।
हौसलपुरका बासिन्दा खेतीपाती, पशुपालन र केहीले अन्य ठाउँमा गएर मजदुरी गर्छन्।
Facebook Comment