एमसीसी रोक्न सभामुख सापकोटालाई चीनको ठूलो उपहार, प्रधानमन्त्रीले लिए एक्सन

नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका अग्नि सापकोटाले आफ्नो औकात देखाएका छन् । यसअघि माधव नेपाल लगायत १४ सांसदको कारवाही थमौती गरेर एमालेको तारो बनेका सभामुख सापकोटा अहिले सत्ता गठबन्धनमा समेत बार्गेनिङमा उत्रेका छन् ।

चीनको पछि लागेर अमेरिकी सहायता परियोजना एमसीसी रोक्न सक्रिय सभामुख सापकोटाले सत्ता गठबन्धनमा भाग मागेका हुन् । एमसीसी रोक्न सापकोटालाई चीनले उपहारसमेत दिएको सत्ता गठबन्धनमा चर्चा छ । गठबन्धनका एक नेताकाअनुसार चीनले सभामुख सापकोटाका छोरा रुपक सापकोटालाई चीनका लागि नेपाली राजदूत बनाउन सघाउने वचन दिएको हो । नेपालबाट सिफारिस भएमा रुपकलाई राजदूतका रुपमा एग्रिमो दिन आफूहरु तयार रहेको चीनले सभामुख सापकोटालाई वचन दिएको खुलेको छ ।

साथै चिनियाँ पक्षले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि रुपकलाई राजदूतमा सिफारिस गर्न छुट्टै पहल गरिदिने आश्वासन पनि दिएका छन् । चीनको आश्वासन पाएपछि सापकोटाले एमसीसी संसदमै प्रस्तुत हुन नदिने रणनीति लिएका छन् भने अर्कोतिर सत्ता गठबन्धनमा आफ्ना छोरा रुपकलाई चीनको राजदूत बनाउन दबाब बढाएका छन् ।

खासगरी उनले माओवादी अध्यक्ष प्रचण्डलाई रुपकको नाम चीनको राजदूतमा सिफारिस गर्न दबाब दिएका छन् । चीनमा पठाउने राजदूत माओवादी केन्द्रको भागमा परेको छ । प्रधानमन्त्री देउवाले नाम माग्दा प्रचण्डले रुपकको कुरा गरेपछि ठाडै अस्वीकार गरेका छन् । देउवाले अर्को नाम दिन प्रचण्डलाई भनेका छन् ।

आफ्नो स्वार्थका लागि एमसीसी रोक्ने सभामुखका मान्छेलाई कुनै हालतमा राजदूत नबनाउने प्रधानमन्त्री देउवाको अडान छ । राजदूत हुनकै लागि सभामुखका छोरा रुपकले २ महिना अघि नै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।

चीनको रेनमिन् विश्वविद्यालयबाट भूराजनीतिक विषयमा विद्यावारिधी गरेका रुपकले पनि चीनको राजदूत बन्न दौडधुप बढाएका छन् । तर प्रधानमन्त्री देउवाले भने एमसीसी सम्झौताको प्रस्तावसमेत सदनमा प्रस्तुतसम्म गर्न नदिनेलाई सहयोग गर्न नसकिने अडान लिएका छन् ।

जसका कारण प्रचण्ड चेपुवामा परेका छन् । माओवादीका निवर्तमान एक स्थायी कमिटी सदस्यले रुपकको धेरै पहिलेदेखि चीनमा पठाउन माओवादीमा कुरा उठेको बताए । ‘अध्यक्ष कमरेडलाई चीनमा रुपकलाई पठाउन देशी विदेशी दबाब छ,’ उनले चीनबाट पनि दबाब आएको संकेत गरे ।

अझै पढ्नुहाेस