सांसद गंगा चौधरीले मर्यादापालकमाथि चढेर रोष्ट्रममा जान खोजेपछि…

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि रोष्ट्रममा चढ्ने कोसिस गरिन्। यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि उनले गृहमन्त्री बालकृष्ण खाँणलाई रोक्ने प्रयास गर्दै रोष्ट्रम चढ्ने कोसिस गरेकी थिइन्।

शुक्रबार पनि उनी संसदका मर्यादापालकमाथि चढ्दै रोष्ट्रममा पुग्ने कोसिसमा देखिइन्। यसबारेमा उनले संसदबाट बाहिरिँदै प्रतिक्रिया दिइन्। ‘म अर्थमन्त्रीबाट प्रतिस्थापन विधेयक खोस्न जाने प्रयासमा थिएँ। सांसदहरुले विरोध जनाउँदा पनि सभामुखले बैठक अगाडि बढाए। कार्यव्यवस्था परामर्श समितिमा छलफल नगरी सभामुख छापामार शैलीमा अघि बढे,’ उनले भनिन्।

यो पनि पढ्नुस् : सांसद गंगा चौधरी रोस्ट्रममै जान खोजेपछि…

उनले सभामुख सापकोटाले जनयुद्धको शैली अपनाएको पनि आरोप लगाइन्। ‘सभामुखले १० वर्षे जनयुद्धको गुरिल्ला शैली अपनाए। म माथि गएको भए अर्थमन्त्रीले बाचन गरेको प्रतिस्थापन विधेयकको फाइल खोस्ने थिएँ,’ उनले थपिन्।

उनले प्रमुख प्रतिपक्षी दललाई साथमा लिएर विधेयक अघि बढाउनु पर्नेमा सभामुखसमेत दलको निर्देशनमा चलेको आरोप लगाइन्। ‘सभामुख पनि चोर बाटोबाट अघि बढे। जंगली पारा देखाए। यो जनयुद्ध होइन। संसदमा यो खालको जंगली व्यवहार हामीलाई स्वीकार्य छैन,’ उनले भनिन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *