धनिराम चौधरीको बालुवाटार एक्सेस, कसरी भेटे प्रधानमन्त्रीलाई?

टीकापुर घटनामा अझै फरार अभियुक्तका रुपमा रहेका थारु कल्याणकारिणी सभाका सभापति धनिराम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। चैतको पहिलो हप्ता उनले प्रधानमन्त्री निवास बालुवाटारमै गएर ओलीलाई भेटेका थिए।

भेटका क्रममा धनिरामले आफूहरुको मुद्दा खारेज गर्न र अहिले टीकापुर घटनामा जेल जीवन विताइरहेका सांसद रेशम चौधरीलगायतलाई रिहाइ गर्न माग गरेका थिए।

त्यसो त यही मागलाई मुख्य सर्त बनाएर यतिबेला जनता समाजवादी पार्टी सत्ताको बार्गेनिङमा गरिरहेका छन्। जसपा र सरकारबीच उक्त माग सम्बोधनका लागि कार्यदल समेत बनेको छ। कार्यदलले विभिन्न चरणका छलफलसमेत गरिरहेको छ।

यो पनि पढ्नुस्:

राष्ट्रपतिसँग रेशम चौधरीको रिहाइ माग, दिइन् यस्तो आश्वासन

यही मौका पारेर थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरी पनि आफूलगायतको मुद्दा खारेज गर्न प्रधानमन्त्रीलाई अपिल गरेका हुन्। बालुवाटार प्रवेशका लागि धनिरामको टिमलाई ओली निकट नेता भगवती चौधरीले व्यवस्था मिलाइदिएको बताइएको छ। उनकै पहलमा प्रधानमन्त्री धनिरामको टिमलाई भेट्न सहमत भएका थिए।

उक्त टिममा सभाका महामन्त्री प्रेमीलाल चौधरी, नेता रुक्मिणी चौधरी र स्वयं भगवती चौधरी पनि उपस्थित थिए।

७ भदौ २०७२ मा टीकापुर घटना घटेपछि अभियुक्त मध्येकै एक रेशम चौधरी भारतमा लुकिछिपी बसेका थिए। त्यसको एक वर्षपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका थिए। त्यही मौका पारेर रेशमले प्रचण्डलाई भेटसमेत गरेका थिए। उक्त भेटलाई लिएर प्रचण्ड सरकारको आलोचना समेत भएको थियो।

रेशमले दिल्लीस्थित ताजमहल होटलमा दाहाललाई भेटेर आफ्नो मुद्दा फिर्ता गर्न आग्रह गरेका थिए। त्यसबेला दाहालले आश्वासन दिए पनि उनी फरार नै रहेका थिए।

पछिल्लो प्रतिनिधिसभा चुनावमा वारेसनामा मार्फत् उम्मेदवारी दिएका रेशम चौधरी कैलाली क्षेत्र नं १ बाट सर्वाधिक मतले विजयी भएका थिए। तर तत्कालै सपथ हुन नसकेपछि उनले कैलाली अदालतमा हाजिरी गरेका थिए।

त्यहीबेला देखि रेशम चौधरी जेल जीवन विताइरहेका छन्। बीचमा उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले शपथ खुवाएका थिए।

प्रधानमन्त्री र धनिरामबीच के कुराकानी भयो?

प्रत्यक्षदर्शीका अनुसार टीकापुर घटनाका अभियुक्त धनिराम चौधरीले प्रधानमन्त्री ओलीलाई आफूलगायत टीकापुर घटनाको मुद्दा फिर्ता गरिदिन आग्रह गरेका थिए। धनिरामले प्रधानमन्त्रीलाई विभिन्न माग राखेर ज्ञापन पत्रसमेत बुझाएको थियो।

ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले टीकापुर घटनाबारे सबै कुरा जानकारी भएको र आफू ‘सिरियस’ भएर लागिपरेको बताएका थिए। ‘टीकापुर घटनाबारे म सिरयस भएर लागेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सहभागी एक जनाले भने।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *