जसपाले थरुहट थारुवान मोर्चालाई गर्‍यो ‘मर्जर’को प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) र थरुहट थारुवान राष्ट्रिय मोर्चाबीच काठमाडौंको बानेश्वरमा छलफल भएको छ। छलफलमा जसपाले मोर्चालाई ‘मर्जर’को प्रस्ताव गरेको छ। जसपका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो सहभागी थिए।

मोर्चाका तर्फबाट संयोजक, महासचिव र सल्लाहकारहरु सहभागी थिए। छलफलमा जसपाका नेताहरुले थारु र जसपाको सैद्धान्तिक, वैचारिक कुराहरु मिल्ने भएकाले मोर्चालाई मर्जरमा आउन आग्रह गरेका थिए।

‘मर्जर भन्दा पनि जसपा र मोर्चाका सैद्धान्तिक वैचारिक कुराहरु उस्तै हुन्। त्यही भएर छुट्टा छुट्टै जानुभन्दा पनि सबै जना संगठित भएर अगाडि बढौं भन्ने प्रस्ताव नेताहरुज्युले गर्नुभएको हो,’ जसपा नेता केशव झाले भने। झाका अनुसार पार्टीले मोर्चाभन्दा पनि थारु बौद्धिक जमातहरुसँग अन्तर्क्रिया राखेको थियो।

‘खासमा पार्टीले थारु बौद्धिक वर्गहरुसँग बसेर थारुका सबालहरुबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको थियो। तर कार्यक्रममा त्यो जमातको सहभागिता रहेको देखिएन,’ उनले भने, ‘पछि पुनः थारुका बौद्धिक वर्गहरुसँग छलफल गर्नेछौं।’

यता मोर्चाका महासचिव तुल्सी चौधरीले थरुहट थारुवानको आन्दोलनमा जसपलाई भौतिक नैतिक समर्थन गर्न आग्रह गरेको बताए। ‘हामीले मोर्चाको आन्दोलनमा नैतिक, भौतिक सहयोग गर्नुस् भनेर आग्रह गर्‍यौं। रेशम चौधरीका बारेमा जसपा किन बोल्दै भनेर प्रश्न गर्‍यौं,’ उनले भने। यसबारे पार्टीको बैठकमा छलफल गरिने जानकारी गराइएको थियो।

जसपाको केन्द्रीय कार्यसमितिको बैठक कात्तिक ३ र ४ गते बस्दैछ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *