विहे प्रस्ताव नकारेपछि शकुन्तला चौधरीमाथि छुरा प्रहार

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–१ मनवाकी १८ वर्षीया छात्रा शकुन्तला चौधरी सोमबार बिहानै कलेज जान भनी घरबाट तयार भएर निस्किएकी थिइन्। नगरपालिकाको बडनिहारमा रहेको कलेजमा अध्ययनरत छिन् शकुन्तला।

समयमै कलेज पुग्नुपर्ने भएकाले हतारिँदै पैदलै जादै थिइन् उनी। कलेजको बिहानी सत्रमा अध्ययनरत शकुन्तलाको सामुन्ने बिहानको साढे ६ बजेतिर एक जना युवक आउँछन्।

फिल्मी शैलीमै ती युवकले शकुन्तलालाई आफूसँग बिहे गर्न प्रस्ताव राख्छन्। बिहेको प्रस्ताव राख्ने युवकलाई शकुन्तलाले पनि चिनेकी थिइन्। ती युवक सोही वडाको भटनी टोलका १८ वर्षीय जयकिशोरप्रसाद चौधरी थिए।

जयकिशोरले आफूसित बिहे गर्न राखेको प्रस्तावलाई शकुन्तलाले ठाडै अस्वीकार गरिन्। आफ्नो प्रस्ताव अस्वीकार गरेको जवाफ शकुन्तलाबाट सुनेपछि जयकिशोर रिसले चुर भए।

त्यसपछि उनले आफूसितै लिएर आएको चक्कु निकालेर शकुन्तलामाथि अन्धाधुन्ध प्रहार गर्न थाले। चक्कु प्रहारबाट घाइते भएकी शकुन्तला चिच्याउन थालिन्।

नजिकै भएका स्थानीयबासीले शकुन्तलाको उद्दार गरे। चक्कु प्रहार गर्ने युवकलाई समातेर स्थानीयबासीले नै प्रहरी चौकी मनवामा बुझाए। छुरा प्रहार गर्ने युवक अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। उनले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ।

अभियुक्तलाई हदैसम्म कारबाही गर्न माग

छुरा प्रहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै स्थानीय महिलाले प्रहरी चौकी मनवा अगाडि प्रदर्शन गरेका गरेका थिए।

उनीहरुले जीतपुरदेखि रंगपुर जाने जनता सडकमा १ घण्टा सवारी आवागमन ठप्प पारेका थिए। आक्रोशित महिलाहरुले मनवा प्रहरी चौकीको कम्पाउण्ड वाल भत्कादिएका छन्।

उनीहरुले देशमा महिलाहरुमाथि एकपछि अर्को ज्यादति भइरहेको जनाउँदै त्यसमा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *