स्वच्छ खानेपानीले विपन्न बस्तीमा खुुसियाली

सीताराम चौधरी।
चन्द्रौटा(कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसबासाका बासिन्दाले वर्षौंपछि बल्ल शुद्ध खानेपानी पाएका छन् । त्यहाँस्थित जागृति आधारभूत विद्यालय प्राङ्गणमा जमिनको सतहमुनि डिपबोर जडान गरिएको छ । खानेपानीको व्यवस्था भएसँगै त्यस बस्तीका बालबालिका मात्र होइन, ७० घरधुरीका बासिन्दा स्वच्छ खानेपानी पाएका हुन् । पानीकै समस्याबाट काकाकूल बनेका त्यहाँका बासिन्दामा यतिबेला खुशियाली छाएको छ ।

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा वि.सं. २०२८ सालतिर बस्तीको विस्तार भएको त्यहाँका अग्रहहरुको भनाई छ । वर्षौंदेखि स्वच्छ खानेपानीको समस्या झेल्दै आएका बनकसबासाका बासिन्दा हालसम्म खोलाको धमिलो पानी खान बाध्य थिए । खोलाको दुषित पानीका कारण प्रायः बालबालिका र वृद्धवृद्धाहरु झाडापखाला जस्ता रोगको सिकार हुनुपरेको थियो । खानेपानीकै समस्यालाई मध्यनजर गर्दै स्थानीय निकाय र गैरसरकारी संस्थाको पहलमा अहिले त्यहाँ शुद्ध खानेपानीको व्यवस्था भएको हो । कालिका स्वावलम्बन सामाजिक केन्द्र, शिवराज नगरपालिका, एकीकृत सुरही सामुदायिक वन र स्थानीयको कूल ७ लाख २३ हजार लागतमा डिप बोरिङ सम्पन्न भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिल कुमार घिमिरेले जानकारी दिए।
त्यहाँका बासिन्दाको एकमात्र सपना थियो पिउने पानीको व्यवस्था कसरी गर्ने ? वर्षौंपछि सपना साकार भयो – हर्षित हुँदै वि.व्य.स. अध्यक्ष घिमिरेले भने । उनीमात्र होइन सपनामै नचिताएको काम भएपछि त्यहाँका बासिन्दामा खुशीको सीमै छैन । सबै प्रफुल्ल मुद्रामा छन्, सबैको अनुहारमा छुट्टै चमक देखिन थालेको छ ।
स्कूले बालबालिकालाई लक्षित गरी विद्यालय प्राङ्गणमै डिप बोरिङ जडान गरी स्वच्छ खानेपानीको व्यवस्था मिलाइएको छ । साथै खानेपानी संकलनका लागि विद्यालय भवनको उत्तरपट्टि ओभरहेड ट्यांकी स्थापनाको योजना अघि सारिएको छ ।
विद्यालयमा खानेपानीको व्यवस्था भएसँगै एक भव्य कार्यक्रमका बीच खानेपानीको उद्घाटन गरिएको हो । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले रिबन काटेर धारोबाट निस्किएको पहिलो पानी खाई उद्घाटन गरे । डिपबोर उद्घाटनपछि त्यहाँ उपस्थित अतिथि तथा विद्यालयका बालबालिका, शिक्षकस्टाफ र स्थानीय बासिन्दाले धित मरुन्जेल पानी खाए । खानेपानी उद्घाटनपछि लगत्तै नगरप्रमुख अधिकारीले ओभरहेड ट्यांकी शिलन्यास गरेका थिए ।
कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले सबैको सहयोग, सहकार्य र अथक प्रयासले अहिले त्यस बस्तीका बासिन्दाको शिक्षा र स्वास्थ्यमा पहिलो सफलता पाएको विश्वास व्यक्त गरे। खानेपानीकै प्रमुख समस्याले ग्रसित बनेका उक्त बस्तीमा खानेपानीको व्यवस्था हुँदा अहिले त्यहाँका विपन्न परिवारले जीवनदान नै पाएको उनले उद्घोष गरे। २०४०–४२ सालतिर आप्mनो पहलमा खानेपानीका लागि सहयोग जुटाएर सिमेन्टको सानो पानीट्यांकी निर्माण गराएको स्मरण गर्दै नगरप्रमुख अधिकारीले झण्डै चार दशकपछि बनकसबासाका बासिन्दाले जमिनमुनिकै स्वच्छ मूलको पानी खान पाएकोमा आफूले गर्व महसुस गरेको बताए। २०५४ सालमा आफू शिवपुर गाविस अध्यक्ष हुँदा २०५८ सालको गाउँपरिषदको निर्णयबाट शिक्षाको उज्यालोबाट बन्चित बस्तीमा ज्योति छर्दै जागृति प्राविको उदय हुन पुग्यो । अहिले साना साना बालबालिकाहरु शिक्षाबाट बन्चित हुनुपरेको छैन उहाँले गर्व गर्दै भन्नुभयो । अहिले खानेपानीको व्यवस्था भयो । गाउँभरि खानेपानीको सुविधाको लागि अब छिट्टै ओभरहेड ट्यांकी तयार गर्नुपर्छ । विस्तारै बस्तीका घरघरसम्म खानेपानी धारोको व्यवस्थाका लागि सबै एकजुट हुनुपर्छ उहाँको भनाई छ । यसका लागि आफूले नगरपालिकाबाट हुनसक्ने तन, मन र धन सबैतिरबाट सहयोग र सहकार्य गर्ने उनले प्रतिबद्धता जाहेर गरे।
कार्यक्रममा शिवराज नगरपालिका वडा १ का वडाध्यक्ष जगतबहादुर जिसीले अब पानीको मुहानलाई सुरक्षित बनाउन जरुरी रहेकोमा जोड दिए। त्यस बस्तीका बासिन्दाको समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयमार्फत १५के.भी.ए. क्षमताको जेनेरेटर उपलब्ध गराइदिएको बताउँदै उहाँले उचित संरक्षण र व्यवस्थान गर्न सकेमा घरघरमा खानेपानी र विजुलीबत्ती जडान गरी उज्यालोले झिलिमिली पार्न सकिने बताए।
कार्यक्रममा सेभ द चिल्ड्रेन स्वास्थ्य परियोजना संयोजक परमानन्द मण्डलले सबैको सहयोगले मिहिनेतले आज बनकसबासामा स्वच्छ खानेपानीको सुविधा हुँदा बालबालिकादेखि लिएर सम्पूर्णको अनुहार हँसिलो देखिएको बताउनुभयो । “खोलाको दुषित पानी खान बाध्य त्यस बस्तीमा पानी सफा गर्न पिउस जस्ता औषधि वितरण नगरेकोे पनि होइन । स्थानीयलाई स्वच्छ पानी खुवाउने हाम्रो सपना थियो । यसअघि पनि दुई पटक पानी निकाल्ने कोसिस ग¥यौं तर सफल भएनौं । स्थानीयबासीको आत्मबल र कहिल्यै नआत्तिने मित्रीको अथक प्रयासले तेस्रो पटक ४ महिनामा सफलता हात पर्यो ।” उनले भने– “सत्तरी प्रतिशत रोग पानीकै संक्रमणबाट सर्छ । आज जमिनमुनिको स्वच्छ पानी गाउँलेले खान पाउने भए । अब बनकसबासा पानीबाट लाग्ने रोग मुक्त गाउँ बन्ने भयो ।”
खानेपानी उद्घाटन कार्यक्रममा कालिका स्वावलम्बन सामाजिक केन्द्रका संस्थापक सदस्य सन्तराम अग्रहरीका अनुसार राम्रो काम एक्लो प्रयासले कहिल्यै पूरा हुँदैन । तर सबैको सहयोग, सहकार्य र प्रयास भए जस्तोसुकै काम पनि सजिलै सम्पन्न गर्न सकिन्छ । “हामी कहिल्यै हार खाएनौं प्रयासलाई निरन्तरता दिइरह्यौं । आज त्यसैको प्रतिफल सबैले पाएका छौं । त्यस बस्तीको मुहार फेरिएको छ । त्यहाँका बासिन्दा उत्साहित भएका छन्,” उनले भने।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मनकुमारी थापा, विव्यस अध्यक्ष सुनिल कुमार घिमिरे, शिक्षिका हिमला कार्की, स्थानीय युवा सन्तोष वि.क., विषप खडका लगायतले चार महिनाको भोगाईले सफलता पाएकोमा स्थानीयमा खुशियाली छाएको बताए । बल्ल विकासको पहिलो खुड्किलो समुदायले पार गरेको बताउँदै उनीहरुले सामाजिक विकासका धेरै काम अधुरो रहेको औल्याउँदै सबै संगठित हुँदै सबैको सहयोग र सहकार्य लिइ समुदायको मुहार फेर्न लाग्ने उनीहरुले प्रतिबद्धता जनाएका थिए ।

आफूले कहिल्यै हरेस नखाएर निरन्तर अथक प्रयास गर्ने र समुदायलाई सधैं हौसला दिँदै जीवनमा कल्पनै नगरेको काम सम्पन्न गरी समुदायलाई जीवनदान दिएको भन्दै प्राविधिक माधव प्रसाद यादवलाई सबैले सम्मान गरेका थिए । प्राविधिक यादवलाई खुशियाली स्वरुप १० हजार नगद उपहार, कदर–पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । जीवनमै पहिलो पटक यसरी सम्मानित हुँदा यादवमा अझ उत्साह थपिएको थियो । त्यसैगरी ठेकेदार जगतराम चौधरीलाई समेत कदर–पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । हालसम्म बढीमा १५ दिनभित्र हरेक योजना सफल गर्दै आएका थियौं ठेकेदार जगतराम चौधरीले भने। तर यो पहिलो योजना हो जुन गत साउनमा शुरु गरिएको चारपछि कार्तिकमा मात्र सम्पन्न भयो । चट्टान फोरेर पानी निकाल्न सफल भयौं उहाँले भन्नुभयो । अहिले गाउँलेलाई पुग्ने स्वच्छ पानी व्यवस्था गर्न सफल भएकोमा आफूलाई निकै खुशी लागेको ठेकेदार जगतको भनाई छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *