राना थारु समुदायका पहिलो निर्वाचित प्रमुख, जो चुनाव जित्‍नकै लागि माओवादीमा प्रवेश गरे

उनले करिब साढे तीन दशक राष्ट्रिय जनमोर्चाको राजनीति गरे । कृषि पेसासँगै राजनीतिमा लागे पनि कहिल्यै सार्वजनिक पदमा बसेनन् । यसअघिका विभिन्न चुनावमा लड्ने इच्छा पनि देखाएनन् । यसपटक ३ महिनाअघि मात्रै चुनाव लड्नकै लागि जनमोर्चा छाडेर माओवादी केन्द्रमा आएका ५० वर्षीय मदनसेन बडायक कञ्चनपुरको लालझाडी गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका छन् । उनी राना थारू समुदायबाट गाउँपालिका अध्यक्ष बन्ने पहिलो व्यक्तिमा दरिए ।

शुक्रबार साँझ अबेर घोषित परिणामअनुसार उनले २ हजार ५ सय ९ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मल रानाले २ हजार ३ सय ६४ मत मात्र पाए । उपप्रमुखमा माओवादीकै सत्यदेवी महरा २ हजार ३ सय ४२ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी कुश्मा रानाले २ हजार २ सय १० मत पाइन् ।

राना थारू समुदायको बाहुल्य रहेको उक्त गाउँपालिकाका अधिकांश बासिन्दा कृषि पेसामै आश्रित छन् । पढाइका नाममा ‘टेस्ट’ परीक्षा पास मदनसेन पनि कृषक नै हुन् । उनको अढाई बिघा जमिन छ । थप ५ बिघा जमिन भाडामा लिएर उखु खेती गरेका छन् । ‘म सानैदेखि कृषिमै लागेको हुँ,’ उनले भने, ‘अब कुनै भेदभाव नराखी गाउँको विकाससँगै कृषकको आयस्तर बढाउन कोसिस गर्नेछु ।’

३० हजार बढी जनसंख्या रहेको लालझाडीमा ५ देखि १० प्रतिशतजति पहाडी समुदायको बसोबास छ । बाँकी ९० प्रतिशत थारू समुदाय । गाउँमा बाटोघांटो, सिँचाइ, अस्पताल र आवश्यकता अनुसार विद्यालय सुविधा छैन । चुनाव प्रचारप्रसारका बेला आफूले गरेको सबै प्रतिबद्धता पूरा गर्ने मदनसेन बताउँछन् । गाउँमै २५ बेडको अस्पताल खोलेर बाह्रै महिना डाक्टर रहने व्यवस्था मिलाउने उनको भनाइ छ । उपप्रमुखमा विजयी महरा पनि ८ वर्षअघि माओवादीमा प्रवेश गरेकी हुन् ।

एसएलसी उत्तीर्ण उनले राजनीतिबारे केही थाहा नभए पनि पति दलबहादुरको हौसलाले अघि बढेको उनले बताइन् । ‘महिला र बालबालिकाका अधिकारका लागि विशेष पहल गर्नेछु,’ उनले भनिन्, ‘थारू र पहाडीलाई मिलाएर गाउँको विकास गर्नेछौं ।’

कान्तिपुर दैनिकबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *