निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका टीकापुर राजबन्दी परिवारले किन भोट हाले?

लखन चौधरी/धनगढी।

कैलाली जिल्लामा सम्पन्न मतदानमा करिब ७० प्रतिशत मत खसेको छ। जिल्लाभरि उत्साहजनक र शान्तिपूर्ण वातावरणमा मतदान भएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जनाएको छ।

क्षेत्रीय निर्वाचन अधिकारी मोहन आर्यालका अनुसार जिल्लामा करिब ७० प्रतिशत मतदान भएको छ। तर अधिकांश स्थानीय तहको रिपोर्ट आउन अझै बाँकी रहेको उनको भनाइ छ। मतगणना स्थलतर्फ मतपेटिका ओसार्ने काम भइरहेको जनाउँदै उनले केही स्थानीय तहको मतगणनाको काम आजैदेखि सुरु हुने उल्लेख गरे। १३ स्थानीय तह रहेको कैलालीमा चार लाख तीन हजार दुई सय ८० जना मतदाता छन्।

मतदानको पूर्वसन्ध्यामा कैलाली जिल्लामा बम विष्फोटको त्रास पनि फैलिएको थियो। विप्लव माओवादीले निर्वाचन बिथोल्ने उद्देश्यका साथ राखिएको बमको कारण मतदातामा त्रास फैलिएको थियो। यद्यपि जिल्लाभरि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए।

यसैबीच निर्वाचनमा सहभागी नहुने भन्दै आन्दोलनरत टीकापुर राजबन्दी परिवार पनि अन्ततः स्थानीय तह निर्वाचनमा सहभागी भएका छन्।
आफ्नो मान्छेलाई रिहाई नगरेसम्म राज्यको कुनै पनि निर्वाचनमा भाग नलिने भनी अडान राख्दै आएका उनीहरु आज सम्पन्न निर्वाचनमा उत्साहका साथ भोट हालेका छन्।

थुनामा रहेका थारु नेता लक्ष्मण थारुकी पत्नी पार्वती चौधरीले परिवार, छिमेकीसँगै आफूले पनि निर्वाचनमा सहभागी भएको बताइन्। निर्वाचनमा सहभागी नहुने भनेपनि आफूहरुको हक अधिकारको लागि आन्दोलनरत राजनीतिक दल तथा नेताहरु नै उम्मेदवारी दिएपछि निर्वाचन पनि एउटा आन्दोलनकै हिस्सा रहेकोले मतदानमा भाग लिएको जानकारी दिइन्।

त्यस्तै, अर्का बन्दी रामप्रसाद चौधरीकी पत्नी प्रेमा चौधरीले आफू मतदान गर्न नपाए पनि परिवारका अन्य सदस्यले मतदान गरेको बताइन्। आफू बिरामी भएको कारण मतदान केन्द्र जान नसकेको बताउँदै उनले चुनाव पनि पहिचान तथा अधिकारको लडाईँ भएकाले आफ्नो नेता छान्नकै लागि पनि मताधिकार प्रयोग गरेको सुनाइन्।

थरुहट आनदोलनको क्रममा ०७२ साल भदौ ७ गते एक नाबालकसहित आठ जना सुरक्षाकर्मीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो। उक्त घटनामा संलग्न रहेको अभियोगमा हालः २३ जना कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् भने दुई नाबालक पोखरास्थित बाल सुधारगृहमा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *