आफैँले बोकेको बम पड्किँदा विप्लव कार्यकर्ताको मुत्यु

सोमबार राति धनगढी खानेापनी संस्थान जाने रोडस्थित जीएस एण्ड सन्स होटल परिसरमा बम विष्फोट हुँदा एक युवकको ज्यान गएको छ। बम बोकेर ल्याएका बिप्लव माओवादीका कैलाली जिल्ला सदस्य धनगढी उपमहानगरपालिका-१२ निवासी २९ वर्षीय चन्द्र सिंह उर्फ सनराइजको मृत्यु भएको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए।

सोमबार राति ९.५५ बजे बजारमै बम बिष्फोट भएको थियो। होटलको पछाडि सेफ्टी टंकी नजिक परिसरमा बम बिष्फोट भएको हो। प्रहरी घटनास्थल पुग्दा रक्ताम्मे भएर ती युवा ढलेको अवस्थामा भेट्टिएका थिए। ‘खुट्टा, हात क्षतबिक्षत भएको थियो भने, शरीरमा विभिन्न भाग क्षतविक्षत भएको देखिन्थ्यो,’ प्रहरी उपरीक्षक चन्दले भने।

आफ्नो नाम र ठेगाना प्रहरीलाई घाइते अवस्थामा रहेका युवा आफैँले भनेका थिए। ‘ती युवकले मलाई बचाइदिनुहोस्, म सबै कुरा भन्छु भनेर हार गुहार गरिरहेका थिए,’ चन्दले भने। सेती अञ्चल अस्पतालमा उनलाई उपचारार्थ पठाएपनि राति ११.४० मिनेटमा उनको मृत्यु भएको एसपी चन्दले बताए।

घटनास्थलमा बारुद्धको गन्धबाहेक बमको कुनै अवशेष फेला नपरेको प्रहरीले बताएको छ। ‘केही नभेट्टिएकोले अहिलेसम्म कुन बम पड्केको भनेर पत्ता लागेको छैन,’ उनले भने। होटल सञ्चालक राजकुमार खड्काले भान्सा बन्द गरेर माथि गएको केही क्षणमै बम पड्केको बताए।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ। बम बिष्फोट भएको ठाउँ अञ्चल प्रहरी कार्यालयको ठीक अघि करिब ५० मिटरको दूरीमा छ। कुनै ठाउँमा बिष्फोट गर्न लैजाने क्रममा अचानक बम बिष्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *