राप्ती-सोनारीमा ७ थारू उम्मेदवारबीच प्रतिस्पर्धा

राप्ती–सोनारी गाउँपालिकामा प्रमुख दलहरूले थारू उम्मेदवारलाई प्राथमिकता दिएका छन् । थारू समुदायको बाहुल्य रहेको राप्ती–सोनारीमा नेपाली कांग्रेसबाट ५० वर्षीय लाहुराम थारू, एमालेबाट ४४ वर्षीय तुलसीराम थारू, माओवादी केन्द्रबाट ५० वर्षीय पट्टु थारूले प्रतिस्पर्धा गर्दै छन् ।

गाउँपालिकामा उम्मेदवारी दिएका ९ उम्मेदवारमध्ये ३ जना मात्र अन्य समुदायका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले मोहनलाल थारू, नेकपा माक्र्सवादीमा लौटन थारू र स्वतन्त्रबाट ऋषिराम थारूले उम्मेदवारी दिएका छन् । गाउँपालिकामा राप्रपाबाट देवेन्द्रकुमार पौडेल, राजमोबाट लोकबहादुर खड्का, नयाँ शक्तिबाट हिक्मत विकले थारू उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् ।

नेपाली कांग्रेसका उम्मेदवार लाहुराम कांग्रेस बाँकेका पूर्वउपसभापति हुन् । एमाले उम्मेदवार तुलसीराम ०४९ सालको स्थानीय निर्वाचनमा साबिकको बैजापुर–२ को अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका पट्टु थारू पूर्वसभासद् हुन् । द्वन्द्वकालदेखि नै उनी माओवादीको राजनीतिमा होमिएका थिए । उनी द्वन्द्वकालमा बघौडा क्षेत्रको जनसत्ता प्रमुख भई काम गरिसकेका व्यक्ति हुन् ।

कांग्रेस उम्मेदवार थारूले वर्षौंदेखि जमिन जोतभोग गर्दै आएका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्ने, नि:शुल्क शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने तथा गाउँपालिकालाई पूर्वाधारयुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । उनले नेपालगन्जसँगको सीधा सम्पर्क जोड्ने पक्की सडकलाईसमेत प्राथमिकतामा राखेको बताए ।

एमाले उम्मेदवार थारूले दुई वर्षभित्र प्राविधिक शिक्षालय स्थापना, कृषिमा आधुनिकीकरण गर्ने, गाउँपालिकामा रिङरोड निर्माण तथा दुई दशकदेखि अलपत्र रहेको ग्रामीण विद्युतीकरण पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । माओवादीका उम्मेदवार थारूले आधुनिक अस्पताल स्थापना, सबै वडामा यातायातमा पहुँच पुर्याउने, घरघरमा बिजुली पुर्याउने आफ्नो एजेन्डा अगाडि सारेका छन् ।

वडाध्यक्षमा सबै थारू उम्मेदवार
यहाँका केही स्थानीय तहमा थारू जातिको बाहुल्य भएका वडाहरूमा सबै उम्मेदवार थारू जातिका छन् । थारू समुदायको करिब ८० प्रतिशतभन्दा बढी जनसंख्या र मतदाता भएका क्षेत्रमा थारू उम्मेदवारको मात्रै उम्मेदवारी परेको हो । ती वडाहरूमा खुला सदस्य र महिला सदस्यमा समेत थारू समुदायको बाहुल्य छ ।

कोहलपुरको वडा नं. १५ मा सबै वडा अध्यक्षका उम्मेदवार थारू समुदायका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका तर्फबाट पतिराम थारू, एमालेका तर्फबाट नारायणप्रसाद थारू, माओवादी केन्द्रबाट जगराम थारू, राप्रपाबाट ओमप्रकाश थारू र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट हरिराम थारू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसैगरी बैजनाथ गाउँपालिका वडा नं. ७ मा वडा अध्यक्षका लागि कांग्रेसबाट सीताराम थारू, एमालेबाट महेश थारू, माओवादीबाट दिनेशकुमार थारू, राप्रपाबाट मुक्तिप्रसाद थारू र फोरम लोकतान्त्रिकबाट दीपककुमार थारूले उम्मेदवारी दिएका छन् । त्यस्तै राप्ती सोनारीको वडा नं ३ को वडाध्यक्षमा कांग्रेसबाट गंगाराम थारू, एमालेबाट मीनकुमार थारू, र माओवादी केन्द्रबाट कलिराम थारू चुनावी प्रतिस्पर्धामा छन् । बाँकेमा करिब १७ प्रतिशत थारू समुदायको बसोबास छ । २०६८ सालको जनगणनाअनुसार १५ दशमलव ६ प्रतिशत थारू समुदाय छन् । जनगणनाअनुसार जिल्लामा थारू समुदायको जनसंख्या ७६ हजार ८ सय ७९ छ ।

http://kantipur.ekantipur.com/news/2017-06-25/20170625095127.html




Leave a Reply

Your email address will not be published. Required fields are marked *