थारु महिलाद्वारा चिरै भजहरमा स्थानीय विदाको माग

लखन चौधरी/धनगढी।

थारु समुदायको महिलाहरुले मनाउँदै आइएको चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गरिएको छ। नारी स्वतन्त्रको प्रतीकको रुपमा लिने चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गर्दै थारु महिलाहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको ध्यानाकर्षण गराएका छन्। संखी सञ्जाल कैलालीले प्रमुख जिल्ला अधिकारी रिजाललाई मागपत्र बुझाउँदै स्थानीय विदाको माग गरेको हो।

चैत २१ गते चिरै भजहर कार्यक्रम परेको जानकारी गराउँदै सखी सञ्जाल कैलालीकी अध्यक्ष इन्दु थारुले स्थानीय स्तरमा विदा नभएकै कारण आफूहरुले स्वतन्त्र रुपमा पर्व मनाउँन नपाएको गुनासो गरिन्। ऐतिहासिक, धार्मिक, मेलमिलाप र समृद्धिको उद्देश्यले प्रत्येक वर्षको चैत महिनामा पर्ने औँशीको सोमबार र शुक्रबार मनाइने प्रचलन रहेको थारु बुद्धिजीबीहरु बताउँछन्। तथापि ग्रामीण भेगमा आफू अनुकुलको समयमा मनाउने गरिन्छ।

यसैबीच प्रमुख जिल्ला अधिकारी रिजालले स्थानीय विदाको लागि पहल गर्ने आश्वासन दिए। पुरुषहरुको सहभागिता नरहने उक्त पर्व गाउँभन्दा पर जंगल या बगैचामा गई अविवाहित चेलीहरुले आपसमा विभिन्न परम्परागत खेल खेलेर मनाउँने प्रचलन छ। तर आजभोलि विवाहित महिलाहरुको समेत सहभागिता रहँदै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *