महिना दिन बढी चल्ने रानाथारु गाउँमा यसरी मनाइँदैछ होरी [फोटो फिचर]

लखन चौधरी/धनगढी।

पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लास्थित रानाथारु बस्तीमा होरी अर्थात् होलीको रमझम अझै जारी छ। अन्य समुदायमा होली पर्वको विधिवत समापन फागुन ३० गते भए पनि रानाथारु समुदायमा भने अझै केही दिनसम्म जारी रहने भएको छ। विभिन्न सांस्कृतिक झाँकीसहित होरी मनाउने प्रचलन रहेको रानाथारु समुदायमा आउँदो सोमबार बिहान (चैत ७ गते)सम्म होली जारी रहने छ।

उसो त एक महिना पहिलैदेखि यो समुदायमा होरीको विधिवत सुरुवात हुन्छ। दुई चरणमा होरी मनाउने प्रचलन रहेको यो समुदाय पहिलो चरणमा अर्थात माघ महिनाको पूर्णिमादेखि फागुन पूर्णिमासम्मको अवधिमा जिउँदो होरी र त्यसपछिको आठ दिन मृत होरी मनाउने प्रचलन छ। यसरी एक महिना आठ दिनसम्म यो समुदायमा होरी मनाइन्छ।

धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका स्थानीय भज्जी रानाले होरी मनाउने विधिवारे प्रकाश पार्दै भने, ‘माघ पूर्णिमाको राति गाउँको दक्षिणी सीमानामा पूजापाठ गरेर त्यहाँ सात वटा कन्डा (गुइठा) छोड्छौं, त्यसपछि होरीको सुरुवात हुन्छ, फागुन पूर्णिमा नआउन्जेलसम्मको एक महिनाको अवधिमा प्रत्येक रात घर–घरमा गई होरीसम्बन्धी गीत गाउने र सामूहिक रुपमा नाच्ने प्रचलन छ।’

उनका अनुसार गाउँको दक्षिणी सीमानामा एक महिना पहिल्यै छोडिएको गुइँठा फागुन पूर्णिमाको राति पराल र तोरीको पिजाईसहित जलाइन्छ। दैत्य हिरन्य कस्यपकी बहिनी होलिकाको प्रतीक मानी गुइँठालगायत वस्तुहरुलाई विधिपूर्वक पूजापाठ गरी जलाउने गरिन्छ।

असत्यमाथि सत्यको जीतको अवसरमा मनाइने यस पर्व मनाउने तौरतरिकामा भने समुदाय पिच्छे विविधता पाइन्छ। यहाँसम्म कि, एक महिना आठ दिनसम्म होरी मनाउने रानाथारु समुदायले फागु पूर्णिमापछिको एक दिनमा मात्रै रंग अविरको प्रयोग गरिने परम्परा रहेको धनगढी गाउँका भल्मन्सा सन्तराम रानाले बताए।

रानाथारु समुदायमा होरीको विधिवत समापन गर्ने पनि अनौठो तरिका पाइन्छ। होरीको अन्तिम दिनको विहान्नै सबै गाउँलेहरु माटोको गोलीलाई सिन्कामा उनेर गाउँको दक्षिणी सीमानामा भेला हुन्छन् । बनाएर लगिएको ती माटाका गोलीहरुलाई यो समुदायमा खक्रेरा भन्ने गरिन्छ। गाउँको भर्रा (पूजारी)ले विधिवत रुपमा पूजापाठ गरिसकेपछि ती खक्रेरालाई फुटाएर होरीको समापन गरिने भलन्मन्सा रानाको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *