सोझा जनतालाई कति दिन बलिको बोका बनाउँछौं ? [विचार]

किशोर चौधरी।

फागुन २३ गते सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा नेकपा एमालेले मेची-महाकाली अभियानअन्तरगतको कार्यक्रम गर्दै थियो। कार्यक्रम चलिरहेको बेला मधेशी मोर्चाका कार्यकर्ता कार्यक्रम विथोल्न हरप्रयास गरिरहेका थिए। दिनभरिजसो नै मधेसी मोर्चाका कार्यकर्ताको प्रयास विफल पार्दै गयो सुरक्षाकर्मीले।

बेलाबेलामा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच घम्साघम्सी चलिरह्यो। बेलाबेलामा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गर्दा भागदौड मच्चिरह्यो। कार्यक्रमको अन्तिममा एमाले अध्यक्षले बोल्न थालेपछि मधेसी मोर्चा झन उत्तेजित बन्यो। उत्तेजित भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्र्मीले कयौंपटक हवाइफायर गर्यो। दर्जनौ सेल अश्रुग्यास प्रहार गर्यो तर अहँ मानेनन्। यस्तो अवस्थामा एमालेले पनि निर्धारित कार्यक्रम छोट्याउनुपर्थ्यो। कार्यक्रम के सकेको थियो उत्तेजित भिड बलपूर्वक प्रहरीको घेरा तोडेर कार्यक्रम स्थालतर्फ जान खोज्य जसलाई रोक्न प्रहरीले गोली नै चलाउनु पर्यो। जसका कारण अनासयमा ४ जना निहत्था जनताले ज्यान गुमाउन पुगे।

एमालेले मेची-महाकाली अभियान सुरु गर्दैगर्दा र मधेसी मोर्चाले त्यो अभियान असफल पार्ने घोषणा गरिरहँदा दुवै त्यतिकै आलोचित बनेका थिए। तर दुवै पक्ष आ–आफ्नो ढीपी छाडेनन् र अन्ततः तराई मधेसमा फेरि रगतको खोलो बग्यो र चार जनाले राजनीतिक आवरणमा अनाहकमा ज्यान गुमाउनु पर्यो। एमालेको मेची महाकाली अभियान र त्यो अभियान विथोल्न मोर्चाको विरोध जसरी भइराखेको थियो, त्यो देखेका धेरैलाई अप्रिय घट्ना घट्छ कि भनेर अड्कल गरेका थिए। भयो पनि त्यस्तै।

त्यहाँ संयमताको अवश्यकता थियो तर कोही संयम भएन। न मधेसी मोर्चा, न एमाले नै। एउटाको हठ र अर्कोको ढीपी नै सप्तरी घट्नाको कारक तत्व हो। नेपालको जुनसुकै ठाउँमा गएर स्वतन्त्रपूर्वक कार्यक्रम गर्ने अधिकार भएकाले हामी गर्न पाउनुपर्छ भन्दै हठपूर्वक सप्तरीमा कार्यक्रम गर्न पुग्यो। अर्कोले कुनै पनि हालतमा एमालेको कार्यक्रम विथोल्नुपर्छ भन्दै ढीपी गर्यो। जसकारण सप्तरीको घट्ना सिर्जना भयो। र अहिले एमालेले नेतृत्वपंक्तिका नेताहरुलाई एक साथ सिध्याउन खोज्यो भन्दैछन् भने अर्कापक्षले मधेसमा नरसंहार मच्चायो भन्दै एकले अर्कालाई आरोप प्रत्यारोपमा उत्रेका छन्। एमालेले हठपूर्वक सप्तरीमा कार्यक्रम गर्नुपर्थ्यो कि पर्दैन्थ्यो अनि मधेसी मोर्चाले एमालेको कार्यक्रम विथोल्न खोज्न हुन्थ्यो कि हुदैन्थ्यो समीक्षा हुन जरुरी छ।

एमाले र मधेसी मोर्चाको आ–आफ्नै हठका कारण कुनै दलमा संम्बद्ध नभएका निर्दोष जनता राजनीतिक दलको बलिको बोका बन्यो। अभियान चलाउनेहरु र अभियान विथोल्नेहरु राजनीतिक दल सम्बद्ध थिए तर प्रहरीको गोली लागि मृत्युबरण गरेकाहरु कुनै पनि दल सम्बद्ध थिएन। कोही स्वास्थ्यकर्मी, त कोही स्थानीय पसले, त कोही रङ पेन्टर थिए। अर्थात कोही पनि कुनै दलसँग सम्बद्ध थिएन।

१. आनन्द साह जो पेशाले स्वाथ्यकर्मी थिए। सप्तरीको डीमन स्वास्थ्य चौकी प्रमुख सिनियर थिए साह। प्रहरी र मोर्चाका कार्यकर्ताबिच भिडन्त भईरहदा उनी पोलियो खोप पुर्याएर राजविराज फर्किने क्रममा थिए। मोटरसाईकलमै रहेको अवस्थामा प्रहरीले चलाएको गोली छातीमा लागेको साहको उपचारको क्रममा उनको मृत्यु भएको थियो।

२. त्यस्तै विरेन्द्र मेहता पनि कुनै राजनीतिक दलमा आवद्ध थिएन। कामको शिलशिलामा घर बाहिर रहेका बेला उनलाई प्रहरीको गाली लागेको थियो र उपचारको क्रममा उनको मृत्यु भयो।

३. सञ्जल मेहता जो ९ महिना अगाडी मात्रै बैवाहिक बन्धनमा बाँधिएका थिए। सानो पसलबाट गुजारा लगाउने उनी पनि कुनै राजनीतिक दलसंग सम्बद्ध थिएन। प्रहरीले गोली चलाउन थालेपछि भाग्नेक्रममा मेहताको पछाडीबाट टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।

४. त्यस्तै पिताम्बरलाल मण्डल पनि कुनै राजनीतिक दलमा आवद्ध कार्यकर्ता होईन्। घरछेउमै गोली चल्यो भन्दै भागदौड मच्चिदा छोराछोरीलाई खोज्नेक्रममा उनलाई गोली लागेको थियो। उनी पेशाले रङपेन्टर थिए।

चार जनाको मृत्यु र दर्जनौ घाईते यतिबेला मलेठ गाउँका अधिकांश घरमा सन्नाटा छाएको छ। यो घट्ना हुनुमा सरकारको गैरजिम्मेवारी पन, एमालेको हठ अनि मधेशी मोर्चाको निषेधको राजनीति भन्दा अतिस्वक्ति नहोला। तर यहाँ कोही पनि गल्तीको भागेदार बन्न तयार छैनन् एकले एर्कालाई आरोप प्रत्यारोप गर्दै पन्छिन खोजिराखेका छन्। हुन त विगतका घट्नालाई नियाल्ने हो भने  दलहरुले दलगत स्वार्थलाई प्राथमिकतामा राखी नेपाली जनतालाई बलिको बोको बनाउदै आएको सवैमा छर्लङ्ग्रै छ। यद्यपी त्यही दलहरुको बलिको बोको बन्न तम्सनु नेपाली जनताको भुल मात्रै होईन महाभुल हो।

सप्तरी घटनामा को कति दोषी छ, त्यो हेर्ने आँखा अनुसार फरक फरक छ। तर जस जसका कारण यो अवस्था निम्तिएको हो उनीहरुको गल्ती स्विकार्नै चाहदैन। त्यो भन्दा पनि दुःखको कुरा त के भन्दा उनीहरुलाई मृतक र मृतकको परिवारसंग कुनै मतलब नै छैन्।  उनीहरुको प्राथमिकतामा छ त केबल राजनीति र दलगत स्वार्थ। पटक पटक जीवन बलिदान दिनेहरुले के पाए यो राज्यबाट या कुनै राजनीतिक दलबाट? ठुल्ठुला राजनीतिक परिवर्तनको सपना बाड्नेहरुले त्यसको थोरै हिस्सा मात्रै पनि किन सक्दैनन् व्यवहारमा देखाउन? यति अप्रिय घटना भईसक्दा पनि आफुलाई पानी माथिको ओभानो मात्रै देखिरहनेहरुबाट कस्तो राजनीतिक परिवर्तनको अपेक्षा गर्ने नागरिकले?

नेपाली जनता सधैं राजनीतिक दलको गोटी बन्नु नै दुर्भाग्य हो चाहे जुनसुकै दलको किन नहोस्। अहिले सबका सव दलगत स्वार्थ या व्यक्तिगत स्वार्थका लागि कुदिराखेका छन् र हामी सिधा सोझा जनता उनीहरुले के के न गर्देला भनेर दिनरात नभनी उनीहरुको पछाडी कुदिराखेका हुन्छम। उनीहरुकै लागि लड्छौ, भिड्छौ र परेको बेलामा ज्यान पनि उत्सर्ग गर्न तयार हुन्छौ। तर ती दल या नेता तिमि/हामी प्रति कति सचेत छन् मूल्याङ्कन गर्ने बेला भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *