स्ववियुको निर्वाचन फागुन १८ गतेलाई सर्‍यो

त्रिविले स्ववियुको नयाँ निर्वाचन कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने भएको छ । त्रिविविका पदाधिकारी, मातहतका क्याम्पस प्रमुख र विद्यार्थी सङ्गठनको आज साँझ सम्पन्न बैठकले यही फागुन १४ गते हुने निर्वाचनको मिति फागुन १८ गतेका लागि तय गर्दै नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।

आठ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन अनेरास्ववियु (क्रान्तिकारी) ले विभिन्न क्याम्पसमा तालाबन्दीका कारण प्रभावित भएको थियो । त्रिविविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले नयाँ निर्वाचनको मिति तयसँगै नयाँ कार्यतालिका तय भएको र सबै विद्यार्थी सङ्गठनलाई समेटेर लैजानका लागि निर्वाचन सारिएको बताए। ‘केही विद्यार्थी सङ्गठनले क्याम्पसमा ताला लगाएका छन्,’ उनले भन‍, ‘ती ताला खुलाउने र आन्दोलनरत पक्षलाई पनि समेट्नका लागि निर्वाचन सारिएको हो।’

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले क्रान्तिकारीको महाधिवेशनका कारण सहभागिता जनाउन नसक्ने भएपछि सबैको सहमतिमा नयाँ मिति तय गरिएको बताए। छलफलमा त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियाँ, रजिस्ट्रार उप्रेती, शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठी, काठमाडौँ उपत्यकाका सबै क्याम्पस प्रमुख, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, क्रान्तिकारीका न्यौपानेसहित सबै विद्यार्थी सङ्गनठका नेताको सहभागिता थियो।

त्रिविले फागुन १४ गतेका लागि निर्वाचन कार्यतालिका तयार गरिसकेको थियो। निर्वाचन कार्यतालिकानुसार आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका थियो । त्रिविले २०६५ सालयता आठ वर्षपछि स्ववियु निर्वाचन २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा गर्न थालेको छ । त्रिविले यसअघि दुई पटक स्ववियु निर्वाचनको घोषणा गरे पनि विद्यार्थी विवादका कारण हुन सकेको थिएन। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *