एपिएफलाई हराउँदै संकटा सिमरा गोल्डकपको सेमिफाइनलमा

नागेन्द्र चौधरी/बारा।
विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउँदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथि २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

विभागीय टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल र सुशील केसीले गोल गरेका थिए। खेलको सुरुवातदेखि तालमेलमा देखिए पनि फिनिसिङ कमजोर देखिएको एपिएफमाथि संघटाले खेलको ४१औं मिनेटमा पहिलो गोल गरेको थियो। विदेशी खेलाडी मार्टिन अजाईले डिबक्सभित्रबाट गरेको क्रसलाई सदुपयोग गर्दै राजले बललाई पोष्टको दिशा दिएका थिए।

खेलमा अग्रता लिएको पाँच मिनेट बित्न नपाउँदै संकटाले अग्रता दोब्बर पारेको थियो। पहिलो हाफमा थपिएको एक मिनेटको इन्जुरी समयमा संकटाका लागि सुशील केसीले दोस्रो गोल गरेका थिए। मार्टिनकै क्रसलाई सुशीलले सदुपयोग गरेका थिए।

खेलमा दुई गोलपछि दबाबमा देखिएको एपिएफले दोस्रो हाफमा भने लयमा फर्किन सकेनन्। दोस्रो हाफको सुरुवातदेखि नै संकटाले एपिएफलाई दबाबमा राखेको थियो। खेलमा फर्कने केही अवसर सिर्जना गरेपनि एपिएफले सदुपयोग गर्न सकेन। एपिएफका युवराज खड्काले थुप्रै अवसर खेर फालेका थिए।

खेलमा पराजय भोगेपछि निराश बनेका एपिएफका प्रशिक्षक कुमार थापाले दोस्रो हाफमा सुधारिएर खेल्न नसक्दा हार ब्यहोर्नुपरेको बताए। संकटाका प्रशिक्षक सल्यान खड्गीले रणनीतिअनुसार खेलाडीले खेलेको कारण जित हात पारेको प्रतिक्रिया दिए। एपिएफविरुद्ध अग्रता लिएपछि रक्षात्मक खेल खेलेको खड्गीले बताए।

संकटाको जितमा उत्कृष्ट प्रदर्शन गरेका मार्टिन अजाई खेलको ‘पतान्जली म्यान अफ दी म्याच’ घोषित भए। उनले पाँच हजार नगद प्राप्त गरे। प्रतियोगिताअन्तर्गत शनिबार सहारा क्लब पोखरा र वीरगन्ज युनाइटेड क्लबबीच खेल हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *