आठौं सिमरा गोल्डकपको तयारी पूरा, मोफसलका ५ सहित दस टिम सहभागी हुने

नागेन्द्र चौधरी/बारा।

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा रहेको सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पूरा भएको छ। आयोजक नव जनजागृति युवा क्लबले सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो।
माघ २० गते उद्घाटन हुने प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमको सहभागीता रहनेछ। आयोजक क्लबका अनुसार प्रतियोगितामा ए डिभिजनका नेपाल आर्मीको त्रिभुवन क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब सहभागी हुनेछन्।

प्रतियोगितामा मोफसलका साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाइटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी हुनेछन्।
अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार नगद प्राप्त गर्नेछ। उपबिजेताले भने दुई लाख ५१ हजार पाउनेछ।

प्रत्येक वर्ष पुरस्कार राशि वृद्धि गर्दै आएको आयोजकले यस बर्ष भने सो राशि वृद्धि नगरेर खेलाडी प्रोत्साहन भत्ता बढाएको छ। प्रतिस्पर्धामा जानुभन्दा पनि खेल खेल्ने खेलाडीलाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई दिइने सुविधा बढाएको आयोजक क्लबका अध्यक्ष एवम् प्रतियोगिता मूल आयोजक कमिटिका अध्यक्ष कासिम मियाले जानकारी दिए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन्। यसैगरी प्रतियोगिता अवधिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने क्लबका सचिव शम्भुसिंह ठकुरीले बताए।

यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद पाच हजार र ट्रफीले पुरस्कृत गरिने जानकारी ठकुरीले पत्रकार सम्मेलनमा दिए। आयोजकले यस बर्ष खेल अवधिमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ६३ जनाको जीवन बिमा गरेको छ।

अध्यक्ष मियाका अनुसार खेलाडी, रेफ्री, दर्शक, पत्रकार र प्रतियोगितामा खटिएका आयोजक क्लबका सदस्यको बिमा गरिएको हो। खेल अवधिमा घाइते भएमा ५० हजारसम्मको दुर्घटना बिमा र घाइते भई कसैको मृत्यु भएको पाच लाखसम्मको बिमा गरिएको अध्यक्ष मियाले बताए।

तीन महिनादेखि ५१ सदस्यीय मूल आयोजक कमिटी र विभिन्न उपसमिति गठन गरेर तयारी थालेको आयोजकले खेल सञ्चालन गर्नका लागि आवश्यक सबै पूर्वाधार तयार पारेको छ। मैदान मर्मत, रंगशाला घेर्ने, प्याराफिट मर्मतलगायत सबै पूर्वाधार तयार गर्ने काम सम्पन्न भएको प्रेस तथा सञ्चार संयोजक दिवाकर भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए।

यस क्षेत्रकै उत्सवको रुपमा रहेको प्रतियोगिता नजिकिँदै गएपछि सिमरालगायत आसपासका चोकलाई सजाउन थालिएको छ। रंगशाला निर्माण, फुटबल एकेडेमी सञ्चालनलगायत खेलकुदको विकास गर्ने विभिन्न उद्देश्यसहित प्रत्येक वर्ष आयोजना भइरहेको प्रतियोगिता हेर्न दर्शक पनि उत्साहित छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *