चौकीदार बलराम थारुको माइकमा जोडियो प्रविधि

‘आयो आयो, बलराम आयो, के गर्न आयो, ताजा खबर भन्न आयो, भोलि बिहान ८ बजे सामुदायिक वनमा दाउरा खुल्ला गरीएको छ, बेगारी छ आउनुहोला ।’ बर्दियाको वन हेरालुले ह्यान्ड माइकमा बजाएको सूचना हो यो ।

गोजीमा मोवाइल राखेर, ह्याण्ड माइक भिरेका, पुरानो साइकलमा चढेर बर्दिया बबई नगरपालिका–५ नेउलापुर गाउँको मध्यवर्ती सामुदायिक वनका वन हेरालु चौकीदार बलराम थारु बिहीबार बेलुका गाउँमा यसरी माइक घन्काएर डुल्दै हुनुहुन्थ्यो । अरु दिनमा आफ्नै आवाजमा चिच्चाउँदै भेला हुन सूचना दिने बलराम ह्याण्ड माइकबाट सूचना भन्दै यसरी हिँडेको देखेर गाउँघरका अधिकांश बासिन्दा घरभित्रबाट बाटोमा आएर सुन्न र हेर्न थाले ।

सामुदायिक भेलामा जम्मा हुन होस्, वा सामुदायिक काममा होस्, गाउँघरमा चौकीदारले हाँक फिजाएर गाउँ समुदायका सबैलाई जुटाएर काम गर्ने सार्वजनिक कामलाई स्थानीय भाषामा बेगारी भनिन्छ । त्यही बेगारीमा आउन सूचना दिने परम्परा अहिले प्रविधिको विकासले सजिलो बनाइदिएको छ ।

झण्डै तीन महिना अघि सामुदायिक वनको वन हेरालु पदमा कार्यरत बलरामले प्रविधिको विकाससँगै यो नौलो तरीका अपनाउनुभएको हो । उहाँ भन्नुहुन्छ ‘गाउँको एक जना गोपाल भाइसँग ह्याण्डमाइक थियो, उसले मोवाइलमा बोल्न पठायो, मोवाइलमा रेकर्ड गरेँ, अनि गाउँ गाउँमा यसरी डुलेँ, हातमा माइक पनि थियो, कुनै बेला माइकबाट पनि बोल्थेँ, धेरैजसो मोवाइलबाटै बजाउँथेँ ।’ ‘झण्डै ३ सय ४० घरधुरी उपभोक्ता सदस्य रहेको नेउलापुर गाउँमा बेगारीको सार्वजनिक सूचना दिन अरु दिन मुखैले बोल्दै कराउँदै जान्थेँ, २, ३ घण्टा लाग्थ्यो, घाँटी पनि सुक्थ्यो, यसरी गएपछि त एकै घण्टामा सकीयो, धेरै बोल्न पनि परेन, अब त यसरी नै भन्ने हो, सामुदायिक वनलाई अब ह्याण्डमाइक किन्न भन्ने हो, अरु वन हेरालु चौकीदारले पनि यस्तै गरे राम्रै हुन्छ’ बलराम भन्नुहुन्छ ।

यसरी नौलो तरीका अपनाएर आफ्नो सामुदायिक वनको वन हेरालुले गाउँमा सूचना दिएको सुनेपछी नेउलापुर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष अर्जुन शर्मा पनि खुसी हुनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘सामुदायिक वनमा तिहारको अवसरमा सुकेका दाउरा संकलन गर्न भेला बोलाइएको थियो, कहाँबाट खोजेर प्रविधिको प्रयोग गरेछन्, अचम्म लाग्यो, सजिलो पनि हुने रहेछ, अब त एउटा ह्याण्ड माइक किन्नै पर्ने भयो ।

भावुक योगी/उज्यालो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *