कञ्चनपुरको बेलौरीमा हात्तीको आक्रमण, सुन्दरी चौधरीको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–१५ रामघाटका ३५ वर्षीया सुन्दरी चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । श्रीमान् आशाराम चौधरीसित साइकल चढेर शङ्करपुरको चानँदेउ आउनेक्रममा स्थानीय गोरखनाथ सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिए ।

जङ्गलको बाटोमा साइकलयात्रा गरिरहेका चौधरी दम्पतीलाई जङ्गली हात्तीले लखेट्दा मृतकका श्रीमान् आशाराम साइकल छाडेर भाग्न सफल भएपनि श्रीमती सुन्दरीको भने हात्तीले कुल्चेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीको बथानबाट भाग्न सफल भएका आशारामले जङ्गल छेउकै गाउँ पुगेर घटनाबारे जानकारी गराएका थिए ।

प्रहरीका अनुसार घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय बेलौरी र शङ्करपुर प्रहरी चौकीको टोली घटनास्थल पुगेको छ । विगत तीन सातायता कञ्चनपुरका विभिन्न क्षेत्रमा भारतको दुधुवा नेसनल पार्कका जङ्गली हात्तीले आतङ्क नै मच्चाउँदै आएका छन् ।

करिब ३५÷४० वटाको बथानमा रहेको हात्तीको समूहले कञ्चनपुरको करिब १५० बिगाहाको धानबाली नष्ट गरिसकेका छन् । हात्तीपीडितले जिल्ला वन र शुक्लाफाँटा आरक्ष कार्यालयमा गरी झन्डै ४००ले क्षतिपूर्तिका लागि उजुरीसमेत दिएका छन् ।

हात्तीले बेलौरी, पुनर्वास, त्रिभुवनबस्ती, शङ्करपुर र भीमदत्तनगरपालिकाका विभिन्न वडामा बढी क्षति पु¥याएका छन् । जङ्गली हात्ती धपाउन स्थानीय प्रशासन र स्थानीयवासी जुटिरहेको तर नियन्त्रणमा ल्याउन सकिएको छैन । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *