थारुहरुको पृथक दशैं

सिर्जना चौधरी।
सबै पर्वहरुको आफ्नै किम्बदन्ती भएजस्तै दशैंको पनि आफ्नै किम्बदन्ती छ । हिन्दू धर्मअनुसार महिषासुरमाथि दुर्गाको विजय, रावणमाथि श्रीरामको विजय वा खराबमाथि असलको विजय भएकाले यसलाई विजया दशमी पनि भनिन्छ। सामान्यत दशैँ असत्यमाथि सत्यको विजयका रुपमा बिश्वास गरिँदै आएको छ ।

तर आफ्नो आदिकालदेखि रहनसहन, जन्मदेखि मृत्युसम्मको संस्कारका प्रकियाहरु पृथक तरिकाले मनाउँदै आएको थारु जातिको लागि दशैं (डसीया वा दशहरा) मनाउने प्रकिया र पराम्परा पृथक नै छ । थारु जनकवि बमबहादुर थारु भन्छन्, ‘पितृ औंसीको दश दिनपछि पर्ने भएकाले थारुहरुले यसलाई दशैँ भनेका हुन् । यसमा हिन्दू धर्ममा वर्णित महिषासुर र दूर्गा अनि लङ्काका राजा रावण वा रामचन्द्रद्वारा विजय प्राप्ती आदिजस्ता कुनै कुराको कतै पनि सन्दर्भ नरहेको थारु जातिको दशैं निकै पृथक छ।’

आफ्नो भाषा, परम्परा र संस्कृति, संस्कारले छुट्टै पहिचान बोकेको थारु जातिमा अहिले पर संस्कृतिको निकै प्रभाव परेको देखिन्छ । आदिकाल देखिको परम्परालाई बिर्सदै र बिस्तारै छोड्दै गएको पाइन्छ । थारुहरुको दशैं आफ्नो छुट्टै मुल्यमान्यता र बिशेषता बोकेकोले छुट्टै प्रक्रियाले मनाउने गरेको पाइन्छ । हरेक तीथिलाई कामको आधारमा नाम दिई मनाउने दशैं घटस्थापना, जमरा राख्ने दिन जेवराहीँबाट सुरु हुन्छ । यस दिनमा दित्तियाको चन्द्रमालाई देखेपछि माटोले बनाएको भाडो बोरसीमा मलीलो माटो राखी मकै, धान, जौको वीउ राखेर छरिन्छ र त्यो भाडो मिन्झारीमा राखिन्छ जहाँ आफ्नो पितृ, देवी देवतालाई स्थिापित गरेका हुन्छन् । सोही दिनदेखि आफ्ना पितृ, देवी, देवतालाई पुज्ने गर्छन् ।
पाँचौ दिनलाई झोलझराई भनिन्छ जुन दिन घरको कुना काप्चा सफा गरिन्छ । माकुराको जालो (झोला) झारिन्छ । त्यसैगरी षष्ठीको दिनलाई घरलिपाई भनिन्छ । यस दिन घरका महिलाहरु घर को भित्ता, भित्र र बाहिरै लिपपोत गर्छन् ।

सप्तमीको दिन मछरमराई भएकोले त्यस दिन नजिकैको खोला, कुलो पोखरी आदिवाट माछा मारेर ल्याइन्छ । अष्टमीको दिनलाई ढिकराही भनिन्छ यस दिनमा हरेकको घरघरमा ढिकरी बनाइन्छ र पितृ र देवी देवतालाई चढाइन्छ। सबैको घरमा ढिकरी बनेकाले एकअर्कालाई बोलाइ ख्वाउने र खाने चलन छ।

नवमीको दिन हुन्छ बलचढाई, आफ्नो देवी देवतालाई दिनुपर्ने बलि चढाइन्छ। जस्तै, परेवा, कुखुरा, बोका, अण्डा । पितृ र देवी देवतालाई पूजीसकेपछि खानपिन सकाएर पितृ सेलाउन गाँउको खोलामा सबै जना जम्मा भएर नाचगान गर्दै जान्छन् । यसरी थारुहरुको दशैं नौ दिनमै सकिन्छ। थारुहरुको दशैं, थारु जातिले विशेषतः आफ्नो पितृ र देवी देवता पुज्ने पर्व मानिन्छ । त्यसैले थारु जनकवि बमबहादुर भन्नुहुन्छ, ‘मुख्यत: भन्ने हो भने यस पर्वमा टीकाको महत्व भन्दा समान्य पितृ, देवीदेवताका पूजाआजा, खानपिन तथा नाचगानमा बढी जोड दिएको देखिन्छ।’ थारु समुदायमा दशैं थारुहरुले नाच्ने नाच झुमरा र सखिया नाचसँगै आउँछ। नाचगान संगै सुरु गरेको थारुहरुले नाचगान संगै पितृ र देवी देवातालाई बिदा गर्छन र घर घर नाची मनाउँछन्।

तर बिस्तारै, थारु जातिले यी सबै रीतीरिवाज, परम्परा र प्रक्रियाहरु छोड्दै गरेको पाइन्छ । आहिले थारु जातिले आफ्नो परम्परा त्यागी पर संस्कृति र परम्परा मात्रै अनुसरण गरेको पाइन्छ । त्यसैले त अब दशहरामा नाच्ने झुमरा, सखीया नाच नाचिँदैन । र, आहिले झुमरा गीत, सजनी, बिरहनी कुनै लोपन्मुख चराको चिरबिर मात्रै भएको छ ।

अहिले मनरा र मजिराको ताल गुन्जिदैन । झुमाडा नाचिसकेपछि गर्ने हरहवा र हरुवहिनीया को सोङ देख्न पाइँदैन, जसले पेट मिचीमिची हसाउँदथ्यो । त्यसैले त थारु भेषभुषा र संस्कृति कुनै कार्यक्रममा देखाउने झलकमात्र बनेको छ । दुखको विषय हो आ्हिले आएर थारुहरुको आफ्नो संस्कृति देखाउनलाई रंगमन्च निर्माण गर्नुपर्छ ।

उति नै हराउँदै गएको पाइन्छ थारु परिकारहरु । अहिले दशैँको ढिकरी भन्दा सेलरोटी बनाउन रुचाउँछन् र कचरीको बरीय र पतउस्नी बनाउनभन्दा पनि फिनी बेल्न रुचाउँछन त्यसैले त अहिले थारु परिकारहरु प्रदर्शनीको स्टलहरुमा मात्र देख्न पाइन्छ ।

आफ्नो छुट्टै पृथकता बोकेको थारुहरुको दशैंले पृथकता गुमाएको देखिन्छ । अन्य समुदाय सँगै बसोबास गर्दै आएको थारु समुदाय आफ्नो परम्परालाई बिर्सिँदै गरेको र पर सँस्कृति र परम्पराहरु अँगालेको पाइन्छ । समुदायमा बसोबास गरेको गैर थारुहरुको परम्परा र प्रकृयाबाट प्रभावित भई त्यही परम्परा र प्रकृयाहरु अनुसरण गरेको पाइन्छ ।

थारुहरुले मनाउने दशैंमा टीका लगाउने काम कुनै गन्य मान्य व्यक्तिको घरमा सबैभन्दा कनिष्ठहरुको हातबाट सेतो टीका र जमरा सिउरिने काम हुन्छ । सानाले आफ्ना ठुलावडाका हातबाट टीका र जमरा थाप्ने चलन नरहेको तर आहिले प्राय थारुले यो परम्मरा पनि अनुसरण गरेको पाइन्छ । त्यसैगरी भारतीयकरणको उस्तै नै प्रभाव परेको देख्न्छि । भारतीय सिनेमा, टीभी सिरियलहरुमा देखाउने परम्परा र प्रकृयाबाट आकर्षित भई सोको  अनुसरण गरेको पाइन्छ जस्तै नवरात्री व्रत बस्ने, जागरता गर्ने ।

एउटै समुदायमा बसेर एकअर्काको धर्म संस्कृति र परम्परालाई अँगाल्नु, सम्मान गर्नु नकरात्मक पक्ष होइन जसले धार्मिक सहिष्णुता पनि देखाउँछ जुन सकारात्मक पक्ष पनि हो । पर संस्कृतिलाई सम्मान गर्नुपर्छ, राम्रा कुरा अनुसरण पनि गर्नु नराम्रो नहोला तर आफ्नो आदिकालदेखि मनाउँदै आएको परम्परा, संस्कृति र रीतितिथि छोड्नु त आफ्नो पहिचान गुमाउनु हो ।

हरेक जातजतिको आफ्नै धर्म, संस्कृति, रीतिरिवाज र परम्परा हुन्छ जुन कुरा आदिकाल देखि नै एक पुस्ताबाट अर्काे पुस्ताले अनुसरण गर्दै आएको हुन्छ । यही धर्म, संस्कृतिले आफूलाई अरुबाट पृथक बनाउँछ। आफ्नो संस्कृति र पराम्परा नै आफ्नो पृथक पहिचान हो, यसलाई जोगाउनसके आफ्नो पहिचान जोगिन्छ ।

लेखक त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *