मदन पुरस्कार विजेता ‘ऐना’बाट साभार- दियो जलिरहेछ

यता,
अखण्ड सुदूरपश्चिम जिन्दावाद, जिन्दावाद !
विखण्डनवादी मूर्दावाद मूर्दावाद , मूर्दावाद !
‘पश्चिम चौराहाबाट आएको जुलुसमा हजारौँ मानिसहरू गगनभेदी आवाजमा कुर्लिरहेका थिए । युवा–तन्नेरी र किशोरहरूका हात–हातमा घंगारुका तीखा लाठीहरू नाचिरहेका देखिन्थे । मानिसहरू अस्तित्व लडाइँको अन्तिम मोडमा उभिएका जस्ता देखिन्थे । अस्तित्व रक्षाका लागि उठेको आवाजमा दृढसंकल्प झल्किन्थ्यो ।’

उता,
थरूहट राज्य जिन्दावाद, जिन्दावाद !
पुनर्उत्थानवादी मूर्दावाद, मूर्दावाद !
थरुहट राज्य घोषणा गर्छौँ, घोषणा गर्छौँ !

‘पूर्वक्याम्पसरोडबाट आएको जुलुसमा रहेका हजारौँ आक्रोशित र उत्तेजित थारुहरूका आवाजले आकाशलाई बुलन्द गरेको थियो । नारी–पुरूषहरूका हात–हातमा रहेका भाला र कटबाँसका लाठीहरू माथि उठेका देखिन्थे । अगुवा थारुहरूको उत्तेजित हाउभाउले पछाडिका युवाहरू विपक्षीको टाउको फोड्न तम्सेका जस्ता लाग्थे । उत्तेजित भीडलाई शान्त र धैर्यशील बनाइराख्ने कुनै नायक देखिन्थेन । सबै आक्रोशित, सबै उत्तेजित । उत्तेजित भीडका अनुहारहरू हेर्दा लडाइँमा विजय प्राप्तिको दृढ प्रतिज्ञा झल्कन्थ्यो ।’

अर्को, टीकापुर घटनाको घाउ आलै थियो । मानिसहरूको शरीरमा तातो रगत उम्लिरहेको थियो । आठ जना सुरक्षाकर्मीहरूको निर्मम हत्या जघन्य अपराध थियो । आफ्नै घरको कौसीमा खेलिरहेको एक निर्दोष बालकको हत्या मानवताहीन र नृशंस थियो । यो कहालीलाग्दो घटनाले आङ सिरिङ्ग बनाइदिएको थियो । देश संघीयताको प्रसव पीडामा छटपटिइरहँदा यति ठूलो मानवीय क्षति भएको थियो । पूर्वमा संघीयताको सूर्य उदाउँदै गर्दा पश्चिममा प्राणान्तको छटपटी हुँदै थियो ।

यी सबै हत्या र अपराधको जिम्मेवार पक्ष थरुहट आन्दोलनकारी भनिएको थियो । थारुहरूले दोष पहाडी समुदाय र सरकारको टाउकोमा थुपारेका थिए । घटनाले थारु र पहाडी समुदायबीच अनन्त युद्धको संकेत गर्दै थियो ।
अर्को मुठभेडको भयावह स्थिति मेरै सामुन्ने थियो ।

‘किन यी थारुहरू यसरी बौलाएका’ कुप्रिएर लठ्ठीका भरमा उभिन खोजेका वृद्धले भने, ‘साठी वर्ष भयो, यै ठौरमा खाई–खेलेको, ऐलेसम्म कैल्यै यस्तो देखिएन । यिनको नहुने दिन आयो अब ।’
‘बुरचोडी पर्वटिया टो एकठो फे नाइ रही रे, अब् हियाँ, सब् चल्जाई पहाड गौकसम् ।’ सडकको पल्लो किनारको भित्री गल्लीमा नयाँ घर बनाउने काममा लागेको एक मिस्त्री थारुले भन्यो ।
‘’कहाँ सेकी रे थारून्के सङ् लड्ना रु कामचोर पर्वटिया,’ अर्कोले थपेको थियो । सुर्ती मुखमा हालेको अर्को केटोले पिच्च थुकेपछि भन्यो, ‘अरे अच्छेसे बनाऊ हो सँघरिया यी घर तो अब् हमारेही हुुइ जाइ । बुर्चोडी पर्वटिया तो कहाँ चल्जाइ, कहाँ ’

‘अरे मै टो उः डिभोटी होटलवाला घर लेम हो सँघरिया,’ अर्को थारुले थुक निल्दै भन्यो ।
‘हियाँ पहाडी लोग नाइरही तो बडा सुग्घुर बठनियाँ फे नाइबिल्गाइ हो सँघरिया रोडमे,’ उल्टा क्याप लाएको जवानले थप्यो, ‘बुर्चोडी, मै टो पहाडीके बठनियाँसङ् लभ करना सोचले रहुँ यार, डाइलेहे ।’
सबै मिस्त्री र कामदारहरू गलल्ल हाँसे । उनीहरूको हाँसोमा चिप्लेचोरले पनि हा..हा..मिलायो तर ऊ पछि केही बोलेन ।

बजारको हल्लागुल्लामा कान ठाडा पार्थे उनीहरू तर नारा जुलुस र आन्दोलनसँग केही लिनुदिनु थिएन उनीहरूको । अरूको लागि जीवन–मरणको सवाल बनेको विषयलाई पनि मजाकमा उडाइदिन्थे उनीहरू । अरुका लागि आलिसान घर ठड्याउँथे । तर, आफ्ना लागि दुई दिनको रमाइलो नै काफी थियो उनीहरूलाई । हाँसो, ठठ्ठा गर्याे रमाई–रमाई काम गर्या। साँझमा एक खोरिया जाँड पियो, सुत्यो, बस् । दुनियाँका लडाइँँ–झगडासँग कुनै मतबल थिएन उनीहरूलाई ।
‘’ज रगतको खोलो बग्छ, माँ कसम । यी मुसाकाललाई लखेट्नुपर्छ ह्याँबाट, दुई–चार जनाका टाउका फोड्नुपर्छ । थारू राज्य बनाउने रे माँसालाहरू !’ भन्यो एउटा केटाले र जोसियो केटाहरूको हुल ।

टाउकामा हकहित संरक्षण मोर्चाका फेटा गुथेका लाठीधारी युवाहरूको जमात उत्तर पार्कतिरबाट सडकमा प्रवेश गर्दै थियो । जसको मनमा जे लाग्छ, त्यही बोल्दै थिए । बूढापाका र अशक्तहरू भयभीत थिए । १० देखि १२ वर्षसम्मका दुई सय केटाकेटीहरू सनपाटका छेस्काहरू हातमा बोकेर सडकमा रमाइरहेका देखिन्थे । दुईतिरबाट आएको आक्रोशित जुलुस जब आमनेसामने हुने अवस्था आउला, तब त्यो भीडन्त र सम्भावित रक्तपातको कल्पना कहालीलाग्दो छ ।
‘छि ! यो के कुरुक्षेत्रको जस्तो लडाइँ हुन थाल्यो भाइ !’ एक जना शिक्षिका रेवन्ती दिदीले अफसोच प्रकट गरिन् । आजको सम्भावित भीडन्त र रक्तपातले महिनौंदेखिका सबै तिक्त र विरक्त लाग्दा घटनाहरूलाई बिर्साइदिने क्षतिको संकेत गर्दै थियो ।

‘सदियौँदेखि अखण्डित र अन्योन्याश्रित रही भाईचारामा बाँचेका थारु-पहाडीको सुमधुर बान्धव्य सम्बन्धमा तिक्तता र वैरभावको यो कस्तो आँधी उठ्दैछ रु कसले यो आगो सल्काइदियो रु यो जातीय द्वन्द्वको पैलो शिकार मै हुनेछु राजु, माफ गर्नू,’ हसुलियाकी रमिला चौधरीले यस्तो म्यासेज पठाउँदा मेरा आँखा रसाएका थिए ।

महिनौँ भयो, आन्दोलनको आगो सडकमा सल्किएको । पूर्वमा संघीयताको मिर्मिरे सुरू हुँदै थियो । चराहरूको घाँटी खसखस हुँदै थियो । पश्चिममा जातीय द्वेषको राग फैलिँदो थियो । थरुहट राज्यको माग गर्दै थारुहरू आन्दोलनमा थिए । अखण्ड सुदूरपश्चिमको माग गर्दै राना र पहाडीहरू आन्दोलनमा थिए । दुवै पक्ष आन्दोलनको मैदानमा थिए । पक्षविहीन मान्छेको आवाज मौन थियो ।

आन्दोलनको राँको सहर बजारमा मात्र बलेको थिएन । गाउँघरमा पनि सल्किएको थियो । थारू बाहुल्य भएका गाउँमा पहाडीहरू थर्कमान थिए । पहाडी समुदायको बाक्लो बस्ती भएका ठाउँमा थारूहरू त्राहिमाम थिए । गएको शुक्रबार मलवारा क्षेत्रमा चारवटा पहाडीहरूका घरमा आगो लगाइयो । मङ्गलबार मोहना क्षेत्रमा पहाडी मूलका युवा राज ऐरीको लास भेटियो । शुक्रबारको दोस्रो दिन वसन्ता वरपरका थारू बस्तीमा धावा बोलियो । राति–राति जसका घरमा पनि ढुङ्गा हिर्काउन थालियो । जनजीवन त्राही–त्राही बन्दै गइरहको थियो । पत्रपत्रिकाहरूमा आएका समाचारले एकातिर आन्दोलनकारीलाई थप आक्रोशित बनाउँदै थिए भने मेलमिलापका संयमित पक्षधरलाई चिन्तित । दिनहुँ सडकमा हुने विरोधसभाहरूमा एक पक्षले अर्को पक्षलाई उत्तेजित पार्ने खालका मन्तव्यहरू दिएका सुनिँदै थिए ।

शनिबारको दोस्रो दिन क्याम्पस चोकमा भएको विरोध सभामा थारू अगुवाहरूले ‘बाँसको डोको बोकेर पहाडीहरू जसरी पहाडबाट मधेश आए, उसैगरी पठाइदिने’ धम्कीपूर्ण मन्तव्य दिएको सुनियो । त्यसलगत्तै अखण्ड सुदूरपश्चिम पक्षधर अगुवाहरूले ‘थारूहरूलाई कर्णाली कटाइदिने’ चेतावनी दिए । एउटा पहाडी आन्दोलनकारी मञ्चमा गएर भन्थ्यो-‘यी थारूहरूलाई हामीले हात धोएर खान सिकायौँ । कट्टु नलाउनेहरूलाई पाइन्ट लाउन सिकायौँ । आधुनिक तरिकाले खेती गर्न सिकायौँ । वनमान्छेजस्ता देखिने थारूहरूलाई आधुनिक मान्छे बनायौँ । आफ्नै भाइबन्धुजस्तै मानेर मिलेर बस्यौँ । आज यिनीहरूलाई राज्य चाहियो रु हामीमाथि नै शासन गर्न खोज्ने रु हामीमाथि धावा बोल्ने !’
एउटा थारू आन्दोलनकारी मुटु भित्रैसम्म छुने गरी मञ्चमा गएर कुर्लिन्थ्यो, ‘यी पहाडीहरूको हामीले कति सेवा ग¥याँै कति । त्यसको कुनै लेखाजोखा नै छैन । आफ्नो जमिन यिनलाई दिएर मालिक बनायौँ । आफू यिनैका कमैया बस्यौँ । हाम्रा जन्नीहरूले यिनका भाँडा धोए । ओछ्यान लगाए । हामी यिनका दास बनेर सेवा गर्याै तर त्यसको प्रतिफल हामीले के पायौँ ! उत्पीडन, दमन, हेपाइ । यो बन्जर भूमिलाई हामीले आवादी ग¥यौँ । आज हामीले आफ्नो राज्य माग्दा हामीमाथि दमन गर्ने रु अब सहेर बस्न सकिँदैन ।’

यी उत्तेजक मन्तव्यहरूले आगोमा घिउ थप्ने काम गरिरहेका थिए । हिजोमात्रै थारू विरोध सभा भएको स्थानमा धावा बोलेर अखण्ड सुदूरपश्चिमको दस्ताले कार्यक्रमस्थललाई आफ्नो कब्जामा लिएको थियो ।
यी सबै शृङ्खलाको अन्तिम पटाक्षेप आज हुनेजस्तो लाग्दै थियो । कुरूक्षेत्रको लडाइँमा कौरव र पाण्डव पक्षका सेनाजस्तै भीडन्ततर्फ जुलुस अगाडि बढिरहेको थियो । पुलिसहरू वाकीटकीमा ठूल्ठूलो स्वरले सम्भावित भीडन्त रोक्न आफ्ना सम्पर्क सेलहरूलाई सचेत पार्दै थिए ।

रेडक्रसका स्वयंसेवकहरू धनचिन्ह भएका सेता ज्याकेट भिरेर सडकमा निस्केका थिए । सुरक्षाकर्मीहरूको अनुरोधको कदर थिएन । चेतावनीको डर थिएन । लाठीहरूको परवाह थिएन । दुवैतर्फका जुलुसमा युवाहरू अग्रपङ्तिमा थिए । बाल, वृद्ध, जवान, महिला, केटाकेटी सबै उमेरका हजारौँ मानिसहरू जुलुसमा थिए । ठूल्ठूलो स्वरमा नाराहरू घन्किँदै थिए । जोसैजोसमा हातहरू माथि उठ्दै थिए । दुवै तर्फका जुलुसका मान्छेहरूलाई लागेको थियो कि एक–अर्कालाई जितेपछि मानौँ राज्य आजै प्राप्त हुन्छ ।

एक पक्षको जुलुस अर्को पक्षले देख्ने गरी नजिक आइपुगिसकेको थियो । अब स्वर सुनिने गरी आमने–सामने हुँदै थियो । जुलुस जति–जति नजिक हुँदै थियो, त्यति नै बढी मानिसहरू उत्तेजित हुँदै गएका देखिन्थे ।

माँटोक्ने ठोक् थारू मुसाकाललाई । ठोक् ठोक्, नछोड्, नछोड् !’
उरन्ठेउला केटाहरूका उत्तेजित हुलले एकाएक थारू जुलुसमा ढुङ्गा हिर्काउन थाले । कटबाँसका लाठी र फलामका भालाहरू आकाशमा नचाउँदै थारू युवाहरू आक्रोशले गर्जिन थाले–
पर्वतिया चोर- पहाड भाग !

डयाङ् ड्याङ्, सुइइ…सुइय !

उताबाट पनि ढुङ्गा र इँटाका टुक्राहरू बर्सिन थाले । पुलिसले दुवैतर्फका आकाशमा अश्रुग्यास फायर ग¥यो । बन्दुक पड्किए । अहँ, जुलुस टसको मस भएन । मानिसहरू आक्रोश र उत्तेजनाले भिडन्तोन्मुख हुँदै थिए ।

‘ऐया डाई रे… ऐया…माँ रे ।’

हेर्दाहेर्दै टाउको रक्तमुछेल भएको थारू जवान सडकमा पल्टियो । सडकभरि रगतैरगत भयो । थारू युवाहरूको आक्रोशले आकाश छोयो-
‘मारो, बुर्चोडी पर्वटिया सालेको,’ थारू युवाहरूले आँखा देख्न छोडे । फलामका तिखा भालाहरू छातीमा रोपिने भए । इँटा र ढुङ्गाका असिनाहरू सडकमा बर्सिन थाले । नसक्नेहरू मैदान छोडेर भागेका पनि देखिए तर पनि धेरैजसोले प्राणको माया मारेको देखियो र ढुङ्गाको वर्षाले सुरक्षाकर्मीहरूको भागाभाग भएको पनि देखियो ।

क्षणभरमै सडक कुरुक्षेत्रजस्तै बन्यो । कतिका टाउकामा ढुङ्गा बर्सिए । कतिका कन्धामा इँटा टुक्रिए । खुट्टा खोच्याउँदै कति पुरुषहरू भाग्न थाले । धनुषवाणजस्ता फलामका सुइराहरू जब शरीरमा रोपिन थाले, कटबाँस र घंगारुका लाठीहरू जब टाउकामा बज्रिन थाले, दुवैतर्फका मानिसहरूको कोलाहल मच्चियो । महिला, केटाकेटी र जुलुस हेर्न आएका वृद्धाहरू घाइते भएर जब सडकमा छटपटाउन थाले, दुवै पक्षका मानिसहरूको रगत जब सडकका बीचमा चुमौन भयो, जब घाइतेहरूको चित्कार सुनियो, भीडन्तले जब नरसंहारको रूप लिन थाल्यो, राज्य प्राप्ति गर्ने लडाइँमा जब मानवताले हार्न थाल्यो, एउटा अवर्णनीय दृश्य कुरुक्षेत्रका बीचमा देखा प¥यो । नाडीमा सेता रुमाल बाँधेर हात खडा गरेका सयौँ महिलाहरू एकैसाथ रणक्षेत्रको बीचमा गर्जिए–

थारू पहाडी भाइभाइ भाइभाइ, भाइभाइ !
हिमाल पहाड तराई, कोही छैन पराइ !
एकै भूमि एकै देश नेपालीको, एकै भेष !
सम्पूर्ण नेपाली एक हौँ एक हौँ, एक हौँ !

भीडन्तरत मानिसहरू एकाएक स्तब्ध देखिए । कटबाँस र घङ्गारुका लाठीहरू जड भए । एउटा कहालीलाग्दो दृश्यले अप्रत्यासित रूपमा कसरी नाटकीयता प्राप्त ग¥यो रु मान्छेहरू अचम्मित भए । मैले देखेँ–
मातृशक्तिबाट प्रेमको पहिलो धारा बग्यो । शान्तिको प्रथम शङ्खघोष भयो । शान्ति र सद्भावका नारा लाउँदै महिलाहरू उत्तेजित युवाहरूलाई थमथमाउँदै थिए । सडकमा घाइते भएका महिला र वृद्धहरूलाई एम्बुलेन्समा राख्दै थिए, कोही । कोही फुटेका टाउकामा सेता पट्टी बाँध्दै थिए । यी प्रेमका पुजारी नारीहरू युद्धको बीचमा पनि प्रेमका सुमधुर गीत गाउँदै थिए । मातृत्वका मृदुल आवाजहरू अलाप्दै थिए । धेरैजसो महिलाहरूले सडकबाट उठाएर घाइते बालबालिकाहरूलाई आफ्ना छातीमा टाँसेका थिए । महिलाहरूको बीचमा मैले देखेँ– प्रेमलता चौधरी थिइन्, जसले २२ वर्षअघि एक पहाडी दलित युवकसँग प्रेम विवाह गरेकी थिइन् । अग्रपङ्तिमा तिनै हसुलियाकी रमिला चौधरी थिइन्, जसले १५ वर्षअघि पहाडी युवालाई प्रेम गरेबापत चारवटा बच्चाकी आमा बनेर पनि धोकाको जिन्दगी गुजार्दै थिइन् । तिनको मनभित्रको प्रेम पहाडी समुदायप्रति अहिले पनि घटेको थिएन । सेतो रुमालको फेटा गुथेर जनशैलावको बीचमा चिल्लाइरहेकी थिइन्– मञ्जु शर्मा उर्फ चौधरी । पहाडी मूलकी मञ्जुले त्यो जमानामा पनि एक थारू युवकलाई प्रेमको माला लगाइन्, जुन बेला चौधरीसँग बिहे गर्नुलाई पहाडी समुदायमा हेयको रूपमा लिइन्थ्यो । एक गरिब चौधरी युवकलाई उनले जीवनभर प्रेम गरिरहिन् । तिनै दशरथ चौधरीबाट ६ वटा सन्तान जन्माएर चौधरीले वंशवृक्षलाई हराभरा पारिदिइन् ।

दुर्गालाई पनि मैले त्यही भीडमा सेतो कफन बाँधेर सद्भाव बाँडिरहेको देखेँ, जसले एक गरिब थारूलाई प्रेम गरेबापत माइतीबाट घृणा, अपमान र तिरस्कारको विष आजसम्म पनि पिइरहेकै छिन् । कलुवापुरकी बैजयन्ती चौधरी जसले मोती कठायतलाई भाईमाला लगाउँछिन् । आरती रोकाया जसले सुनिल महतोलाई बडादाजुको दर्जा दिएर टीका लगाउँछिन् । पूmलमती कठरिया जसले हंशराज उपाध्यायलाई हुर्काइन् । मंगली साउँद जसले श्रीमान् लालबहादुरको मृत्युपछि जोखना थारूलाई लोग्नेका रूपमा वरण गरिन् । ती सबै महिलाहरूलाई मैले आवेग, उत्तेजना र युद्धको बीचमा शान्ति, सद्भाव र प्रेमको आराधना गरिरहेको देखेँ ।

ती महिलाहरू, जसले थारू र पहाडी जातिका बीचमा प्रेम र भ्रातृत्वको आँचल गाँसे । ती महिलाहरू, जसले पढेलेखेका र सभ्य–ठालु भनाउँदा आफ्ना अभिभावकको अवज्ञा गरी गरीब थारूहरूलाई प्रेम गरे र गरिरहे । ती महिलाहरू, जसले आफ्नो जातिको साँघुरो घेरालाई तोडेर मानव जातिलाई प्रेम गरे र गरिरहे । आज मेरो नजरमा ती नारीहरू साँच्चिकै महान् देखिए । मेरो हृदयको कोमल स्थानमा तिनीहरूले अग्लो आसन जमाए । मलाई लाग्यो– तिनको प्रेम बैँसको आवेग होइन रहेछ । क्षणिक भावुकता पनि होइन रहेछ । उही जमानामा बैँसमा कलकलाएका ती यौवनाहरूले थारू पहाडीको एउटै जात देखिसकेका रहेछन् । एक–अर्कामा अभिन्नता सम्झिसकेका रहेछन् ।
आज भिन्न गर्न खोज्नेहरूलाई चुनौती बनेर तिनै सडकमा सतिसाल भइन् । साँच्चिकै थारू पहाडीको यो संगमस्थलमा प्रेमको पहिलो दियो जलाउने तिनै महिलाहरू रहेछन्, जसले आज आन्दोलनको आँधी र हुरी रोकेर त्यो दियोलाई निभ्न दिएनन् । धन्य नारीशक्ति ! धन्य नारी साहस ! धन्य ममताकी खानी !

महिलाहरूको अप्रत्याशित कदमले भीडन्तरत मानिसहरूले चित् खाए । भीडन्तरत जुलुसलाई नियन्त्रण गर्न नसकेर हैरान भएका पुलिसहरू हेरेका हे¥यै भए । पत्रकारहरूका कान ठाडा र कलम तीखा भए । केही थारूहरू आक्रोशितै थिए, बीच सडकमा आफ्ना जन्नीहरूलाई देखेर शान्त भए । केही पहाडीहरू मुर्मुरिँदै थिए, सडक मैदानमा आफ्ना दिदी–बहिनीहरूलाई देखेर पछि हटे । ढुंगा र इँटाका टुक्राहरूले रणमैदान बनेको सडकको धुलो र धुवाँ शान्तिको सास फेर्दै आकाशतिर उड्न थाल्यो । बीच सडकमा थारू र पहाडी महिलाहरू सराबरी थिए । केही क्षणमा नै युद्ध मैदानमा प्रेमको विजय भइसकेको थियो । एक–अर्को समुदायबीच उत्तेजना र घृणा फैलाउनेहरू पराजित भइसकेका थिए । प्रेम र ममताका अगाडि कुन युद्धले विजय प्राप्त गर्नसक्छ भन्नेहरू हर्षित थिए । लाठी र भाला समातेका दुवै पक्षका बलशाली पुरूषहरू लज्जित देखिन थाले । माया र प्रेममा बाँच्नेहरूलाई कहाँ छुट्टै राज्य चाहिन्छ र रु प्रेम गर्ने ठाउँ भए पुग्छ । एक–अर्काको हृदयमा बास दिए पुग्छ । शान्तिको दियो बाल्ने र प्रेमको आराधना गर्नेहरूको त्यहाँ विजय भइसकेको थियो ।

केही क्षणमा नै देखियो– भाला र कटबाँस बोकेका हातहरू विजयको ताली बजाउन थाले । घङ्गारु र उत्तिसका लाठी बोकेका हातहरू थपडी बजाउनमा व्यस्त देखिन थाले । अहो ! क्षणभरमै कस्तो परिवर्तन रु पलभरमै युद्ध र प्रेमका अलग–अलग रूपहरू ! निमेषभरमै अवर्णनीय चमत्कार !

त्यही साँझ, त्यही सडकमा दायाँ–बायाँतिर देखिए, नागरिक समाजका अगुवाहरू दीप प्रज्ज्वलन गरिरहेका थिए । थारू पहाडी युवाहरू संयुक्त सद्भाव र्याली गरिरहेका थिए । उद्योगी–व्यापारीहरू आ–आफ्ना पसलअगाडि दीपावली गरिरहेका थिए । मैले देखेँ– बिजुलीका तारहरूभन्दा अलि माथिबाट एक हुल परेवाहरू आकाशतिर उडिरहेका थिए ।

(रामलालको यस वर्षको मदन पुरस्कार प्राप्त कथासंग्रह ‘ऐना’ बाट साभार)




Leave a Reply

Your email address will not be published. Required fields are marked *