थाकसको झण्डा ओढाएर पूर्वअध्यक्षको श्रद्धाञ्जली अर्पण

कारी महतो/चितवन

थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय अध्यक्ष रामदिन चौधरीको साउन २४ गते सोमबार निधन भएको छ । १९८२ वैशाख २७ गते जन्म भएको चौधरीको आज साउन २४ गतेका दिन ९१ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा निधन भएको हो । वहाँको निधनप्रति थाकस चितवन जिल्लासमिति र क्षेत्रीय समिति क्षेत्र नं. ७ ले दुःख व्यक्त गरेको छ ।

स्वर्गीय रामदिन चौधरीको आजै पवित्र धार्मिक स्थल देवघाट धाममा दाहसंस्कार गरिएको छ । त्यस अघि थाकस चितवन जिल्ला सभापति विश्राम महतो, थाकस पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भजुमनराम महतो, थाकस पूर्व जिल्ला सभापति टिकेन्द्र चौधरी, थाकस चितवन क्षेत्र नं. ७ का सभापति नारायण प्रसाद महतोले संयुक्त रुपमा थाकसको झण्डा ओढाई एक मिनेट मौनधारण गरिएको थियो । साथै नेपाली काँग्रेसका खैरहनी नगर अध्यक्ष शशी खनिया, ने.का. महाधिवेशन प्रतिनिधि राजेन्द्र चौधरीले नेपाली काँग्रेसका झण्डा ओढाएका थिए ।

स्वर्गीय चौधरी थाकसका कार्यवाहक केन्द्रीय अध्यक्षको रुपमा काम गर्नु भएको थियो । वहाँ २०३९ सालमा तत्कालीन खैरहनी गाउँ पञ्चायतको उपप्रधान पञ्च, २०४४ सालमा प्रधानपञ्च तथा २०४९ सालमा ने.का.को तर्फबाट चितवन जिल्ला विकास समितिको इलाका सदस्यको रुपमा निर्वाचित भई देश र जनताको सेवा गर्नु भएको थियो । त्यसो त वहाँ हालसम्म पनि थाकसमा आवद्ध रही जिल्ला समिति र क्षेत्रीय समितिलाई सरसल्लाह प्रदान गर्दै आउनु भएको थियो । २०७० सालमा थाकस चितवन क्षेत्र नं. ७ ले आयोजना गरेको प्रथम खिचरा महोत्सवमा वहाँको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

स्वर्गीय चौधरीको दुई श्रीमति, ५ छोरा र ६ छोरीहरु छन् । ५ छोराहरुमा दिपनारायण चौधरी, स्व. रामनारायण चौधरी, डम्मर चौधरी, सन्तकुमार चौधरी र सागर चौधरी हुन् । वहाँ खैरहनी नगरपालिका वडा नं. ७ को सुर्ताना गाउँका स्थायी बासिन्दा थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *