प्रचण्ड ३९औँ प्रधानमन्त्रीमा निर्वाचित

नेकपा (माओवादी केन्द्र)का नेता एवम् सांसद पुष्पकमल दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्री निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्मा आज भएको प्रधानमन्त्री पदको निर्वाचनमा ३६३ मत प्राप्त गरेर उहाँ मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भए। 

संसद्मा उपस्थित ५७३ मतदातामध्ये ३६३ जनाले नेता दाहालका पक्षमा र २१० जनाले विपक्षमा मतदान गरेका थिए।

संसद्मा तत्काल कायम रहेको ५९५ सांसद सङ्ख्यामध्ये ३६३ नेता दाहालको पक्षमा रहेका र त्यो बहुमत भएको घोषणा गर्दै सभामुख ओन्सरी घर्तीले नेता दाहाल बहुमतले प्रधानमन्त्री निर्वाचित हुनुभएको जानकारी दिए।

यसअघि बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा उनले आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नुभएको थियो । संसद्को अर्को बैठक साउन २४ गते सोमबार ११ बजे बस्ने छ।

प्रधानमन्त्रीको शपथ बिहीबार ३ बजे
नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार तीन बजे शपथ ग्रहण गर्ने भएका छन्। दाहाल बुधबार भारी बहुमतकासाथ मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

बिहीबार शपथ गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई जानकारी गराइ सकिएको छ। दाहालले शपथ ग्रहण गर्नुअघि विभिन्न स्थानमा रहेका सहिल प्रतिमामा माल्यापर्ण गर्ने जनाइएको छ।

यसैबीच सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी प्रधानमन्त्री निर्वाचनको मतपरिणामबारे जानकारी गराएकी छन्। सभामुख घर्ती संसदबाट सिधै राष्ट्रपति कार्यालय पुगेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *