श्रीमानबाट बलात्कार !

इन्दु थारु।

प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई। हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन्। यी दुवै बिना संसार चल्दैन। यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने। प्रेम बिनाको यौन त एक किसिमको बलात्कार नै हो जस्तो लाग्छ। तैपनि कतिपयले यौनलाईनै प्रेम भन्ने गर्छन्।

विवाहले यौनलाई वैधानिक बनाइदिने गर्छ, चाहे त्यहाँ प्रेम होस् या नहोस्। त्यसैले त अधिकांश महिलाहरु विवाहपश्चात वैधानिकरुपमै बलात्कृत हुन्छन् आफ्नै श्रीमानबाट। श्रीमान नै किन नहोस्, श्रीमतीको चाहना विपरित यौन सम्बन्ध राख्दा कानुनले पनि त्यस यौन सम्बन्धलार्ई बलात्कार मानेको छ। तर यति हुदाहुदै पनि कुनचाहिँ श्रीमतीले आफ्नै श्रीमानविरुद्ध श्रीमानले बलात्कार गर्यो भनि उजुरी दिने हिम्मत गर्छिन्? तर म दाबाका साथ भन्छु कैयौं श्रीमतीहरु श्रीमानबाटै बलात्कृत हुन्छन्, तर बोल्ने साहस जुटाउन सक्दैनन्।

मलाई पनि बलात्कार गरियो। वैधानिकरुपमै मेरा श्रीमानले वैधानिक श्रीमती हुनुको नाताले यौन सम्बन्ध राखे, मेरो चाहना विपरित। मलाई बलात्कार गरियो यसकारणले भन्दैछु किनभने त्यो यौनमा प्रेम कहीँ कतै थिएन। हो उनीसंग मेरो विवाह भयो, उनी मेरा वैधानिक श्रीमान भए। विवाह हुँदैमा त्यहँा प्रेम हुन्छ भन्नेनै कहां छ र। विवाह र प्रेम फरक विषय हुन्। जसलाई प्रेम गरिन्छ उसैसँग विवाह होस् भन्ने चाहना राखिन्छ, तर चाहना सधैं पूरा नभइदिन सक्छ। कतिपय अवस्थामा जसलाई प्रेम गरिँदैन उसैसँग विवाह भइदिन्छ। मेरो अवस्थामा पनि त्यस्तै भयो। जसलाई मैले प्रेम गरिन उसैसँग विवाह भयो। अनि विवाहको पहिलो रात त्यो पुरुष मेरो श्रीमान हो भनेर सम्झौता गर्न त सकौला तर प्रेम? सम्झौता प्रेम होइन र हुन पनि सक्दैन। समाजको अगाडि मेरो निधारमा लगाइदिएको रातो टीका (सिन्दुर) र गलामा झुन्ड्याइदिएको माला (मंगलसुत्र)को आडमा श्रीमान नामको पुरुषले विवाहको पहिलो रात नै मलाई बलात्कार गर्यो। सिन्दुर र मंगलसुत्रको आडमा श्रीमानले श्रीमतीमाथि मनपरि गर्न पाउने रहेछन्।

म दुलहीको भेषमा नयाँ घरको नयाँ कोठामा चुपचाप बस्न बाध्य  हुन्छु। या भनु कुन बेला श्रीमान नामको पुरुष आउला र मलाई क्षतविक्षत पार्ला भनि पर्खेर बसेको हुन्छु। खासमा मलाई त्यहाँबाट भाग्न मन हुन्छ तर थोरै पनि हलचल गर्न सक्दिन। साँच्चै सिन्दुर र पोतेमा धेरै तागत पो हुने रैछ। मलाई चारैतिरबाट बाँधिएको महसुस हुन्छ। मेरो प्रतिक्षाको घडी पनि समाप्त हुन्छ, श्रीमानको आगमन हुन्छ कोठामा र उनको रवैया र व्यवहार देखेर उनी मलाई आफ्नो श्रीमान् जस्तो फिटिक्कै लाग्दैन, उनीमात्र पुरुष जस्तो लाग्छ।

उनको प्रेम विहिन स्पर्श एउटा अजंगको पहाड ममाथि खसे जस्तै हुन्छ। त्यो पहाड खस्ने बित्तिकै मेरो सास रोकिए पनि हुन्थ्योझैं लाग्छ, त्यस्तो सोच्दैमा सास किन पो रोकिन्थ्यो र? असाध्यै पीडा हुन्छ मलाई। त्यो पुरुषले किन पो बुझ्थ्यो र, श्रीमान् भए बुझ्थ्यो कि? घरी घरी पिँजडाभित्र कैद शिकारलाई बाघले झम्टिएको सम्झेँ। तर संसारमा कुनै यस्तो बाघ होला र जसले आफ्नो शिकारलाई प्रत्येक दिन र रात घाइते बनाउनलाई जीवितै राख्ने गर्छ? लाग्यो बरु साँच्चैको बाघले झम्टिए हुने, कमसे कम सास रहुन्जेल प्रत्येक रात मैले घाइते हुन पर्दैनथ्यो।

त्यो अजंगको मानवरुपी पहाड आफ्नो आवश्यकता पूरा गरिसके पछि उठ्छ र म फेरि खस्छु भन्ने भावमा मेरो छेउमा स्वास्वा गर्दै निदाउँछ। म चुपचाप बसिरहन्छु, आँशु झार्दै। कसलाई सुनाउ यो पीडा? मेरा आफ्ना भन्नेहरुले नै यही बिस्तरामा श्रीमानले प्रेम गरोस् भनेर बिस्तरा दाइजो दिए, होइन भने दाइजो दिनु नै थियो भने दुइटा बिस्तरा किन दिएनन्। दिनेहरुलाई के थाहा प्रेम विस्तरामा गरिने विषय होइन।

यौन सधैं यति पीडादयी हुँदैन। यौनमा कतै प्राप्त गर्न नसकिने आनन्द पाउन सकिन्छ, यदि त्यहाँ प्रेम छ भने। प्रेम मिश्रित यौन बलात्कार हुँदैन, बरु चमात्कार बन्न जान्छ, चरमसुख प्राप्त गर्ने, यो शृष्टि निरन्तरता गर्ने अनि नयाँलाई जन्म दिने। प्रेम मिश्रित यौनमा म धेरै पटक हराएको छु, आफ्नो प्रेमीसँग। उसको स्पर्श कति जेन्टल र सफ्ट। उसको एउटा स्पर्शले मलाई भित्रैदेखि तरंगित बनाउँथ्यो। अनि नजानिदो पाराले म आफैँ उसको नजिक सर्न बाध्य हुन्थे। उसको मायालु अंगालोमा म पूरै हराउँथे, संसार भुल्थे, सबै दुःख पीडा बिर्सन्थे। पुरुषका यी दुई भिन्न रुप, भिन्न भिन्न व्यवहारदेखि म चकित पर्छु। एउटा पुरुष जो प्रेमी हुन्छ, संसारका सबै दुःखपीडा बिर्साउँछ। अर्को पुरुष जो श्रीमानको नाममा केवल पुरुष हुन्छ, विवाहको पहिलो रात नै श्रीमतीलाई बलात्कार गर्छ।

खोइ कता सुरक्षित छन् महिलाहरु? आफ्नै घरमा, आफ्नै गाँउटोलमा, आफ्नै हजुरबुबाबाट बलात्कृत हुन्छन् , कहिले आफ्नै दाइ, काका र आफ्नै बाबुबाट बलात्कृत हुन्छन्। अनि आफ्नै श्रीमानबाट वैधानिकरुपमै सिन्दुर पोतेको आडमा बलात्कृत हुन्छन्। एउटी बोल्न नसक्ने लाटी केटीलाई देशका राष्ट्रसेवक कहलिने पुलिस जवानहरुले सामूहिक बलात्कार गर्छन्। एउटी लाटी केटी जो प्राकृतिक अपांगताका कारण आपत परेको बेला गुहार माग्न सक्दिनन् र सुरक्षाकर्मीबाटै  बलात्कृत हुन्छिन्। अनि यो समाजमा कुनै पनि महिलाले आफू सुरक्षित भएको अनुभूति गर्ने ठाँउ कहाँ छ? म पनि त लाटी केटी नै हुँ नि। फरक यत्ति हो ती सामूहिक बलात्कारमा पर्ने केटी प्राकृतिक अपांगताका कारण बोल्न सक्दिनन्, अनि म समाजले अपांग बनाइदिएका कारण लाटी भएकी छु। मलाई लगाइदिएको सिन्दुर पोतेले इच्छा नभए पनि श्रीमानसँग सुत भन्छ र श्रीमानलाई खुसी राख भन्ने भाव दिइरहेको हुन्छ। मलाई सिन्दुर पोते लगाइदिएर मेरो जीवनको सुरक्षाकर्मी बनेको श्रीमानबाटै पनि म बलात्कृत हुन्छु।  ती लाटी केटीलाई पटक पटक मैले सम्झे। उनको पीडा आफ्नो पीडासँग मिलाउन खोजे। हाम्रो पिडा बिचको समानता खोज्न चांहे। अहँ, सकिनँ। म एउटा पुरुषबाट सभ्य तरिकाले बलात्कृत हुँदा मलाई सही नसक्नुको पीडा भैरहेको हुन्छ भने  सामूहिक बलात्कार गर्दा ती लाटी केटीलाई कस्तो पीडा भयो होला, मेरो कल्पनाभन्दा निकै बाहिरको कुरा हो त्यो।

मानिसको स्वभाव हो, अरुको भन्दा सधैं आफ्नो पीडा भारी लाग्ने। मलाई पनि लाग्छ, म त ती लाटी केटीभन्दा पनि बढी निरीह छु। आफ्नै श्रीमानबाट बलात्कृत हुँदा कहीँकतै उजुरी दिने ठाउँ देख्दिन, आफ्नो पीडा कसैलाई सुनाउन सक्दिन। एउटी लाटी केटीले पाए बराबरको सहानुभूति पनि मैले पाउन सक्दिन। किनभने श्रीमान नाता पर्ने पुरुषले आफ्नी श्रीमतीलाई  मनपरी गर्न पाउने छुट रैछ। फेरि सहानुभूतिले हुने नै के हो र? कतिपय सहानुभूति देखाउनेहरु नै निकै स्वाद लिएर सुन्न र पढ्न रुचाउँछन् बलात्कारका घटना।

ती लाटी केटीलाई भेट्न मन लाग्छ, अंगालो हालेर निकैबेर रुन मन लाग्छ अनि भन्न मन लाग्छ , लाटी केटी तिमी एक्लै लाटी छैनौ, म पनि एक किसिमको लाटी नै हुँ। फरक यत्ति हो, तिमी प्राकृतिक अनि मचाहिँ समाजले बनाइदिएको लाटी। हामी दुईजना मात्रै पनि लाटी छैनौं, मलाईजस्तै समाजले बनाइएका अनगिन्ती लाटीहरु छन् हाम्रै वरिपरी। तिमीलाई यो देशका सुरक्षाककर्मीले सामूहिक बलात्कार गरे, मलाई मेरो सुरक्षाकर्मीले बलात्कार गर्यो श्रीमानको नाममा। चाहे श्रीमान् होस् चाहे सुरक्षाकर्मी, यी पुरुष साह्रै निर्दयी हुन्छन्। यो धर्ती हामी बाँच्न लाएकको छैन लाटी केटी, त्यसै पनि हामीलाई आधा आकाश ढाक्ने भन्छन्। आउ जाउँ हामी आकाशतिरै, हाम्रो छुट्टै दुनिया आकाशमै बनाउँ, जहाँ स्वतन्त्रतापूर्वक स्वासप्रस्वास गर्न सकौं।

यति सोच्दै गर्दा फेरि ठूलो अजंगको पहाड ममाथि खस्छ र माथिबाट दबाब दिन थाल्छ। बाँच्न पर्ने त यही दुनियामा रहेछ, पीडा चाहे जति नै असह्य होस्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *