सहयोग अपिल : मागेर गुजारा गर्दै रमदैया चौधरी [भिडियो]

बीपी साह।

टीकापुर, थापापुरकी रमदैया चौधरी (३२) विहानै अर्काको खेतमा धान रोप्न जान्छिन्। साँझ फर्केपछि दुई सय पच्चास रुपैयाँ लिएर आउँछिन्। खेतमा काम गरेको दिन बजारबाट चामल, दाल, तरकारी लिएरै आउँछिन्। साँझ घर फर्केपछि स-साना तीन छोराछोरीसँग मिलेर खाना पकाएर खान्छिन्। मजदुरी गर्न नपाएको दिन छिमेकीहरुसँग मागेर खान्छिन्।

उनीलाई हिसाबकिताब त परै जाओस् नेपाली भाषा पनि बोल्न आउँदैन। त्यही भएर उनी अरु मान्छेसँग आफ्ना दुःख पनि व्यक्त गर्न सक्दैनन्। आजभोलि उनलाई छोराछोरीको पढाईको पिरले सताएको छ। एक वर्षसम्म स्कुलको फिस नतिरेकाले तीन जना छोराछोरीलाई विद्यालयबाट निकाल दिने चेतावनीसहित ३५ हजारको बिल आएको छ।

उनको १४ वर्षीय छोरा राकेश चौधरी कक्षा ८ मा १० वर्षीय छोरी निशा कक्षा ५ मा र पाँच वर्षी अर्की छोरी लौभी चौधरी एलकेजीमा पढ्छिन्। स्कुलको बिल देखाउँदै रुन्छिन् र भन्छिन्, ‘मागेर परिवार चलाउँदैछु यस्तो अवस्थामा ३५ हजारको बिल कहाँबाट तिर्ने। बिल तिरिएन भने छोराछोरीलाई स्कुलले निकाल्नेछ।’

उनका श्रीमान बीरबहादुर चौधरीलाई नेपाल प्रहरीले पक्राउ गरेको दश महिना वित्यो। भदौ सात गते टीकापुरमा भएको आन्दोलनमा सहभागी भएको भन्दै नेपाल प्रहरीले पक्राउ गरी उनलाई हिरासतमा राखेको छ।

टीकापुर बजारमा लेबरको र गामघरमा खेतीपातीको काम गरेर परिवार चलाउँदै आएका बीरबहादुर पक्राउ परेपछि उनको परिवार बिच्चलीमा परेको छ। बीरबहादुरको घर रहेको करिब सात धुर जमिनबाहेक सम्पत्तिको नाममा अरु केही छैन।

Ramdaiya Tharu- Tikapur Victims 02श्रीमती रमदैयासँग दुईतीन वटा बाख्राबाहेक अरु कुनै सम्पत्ति छैन। केही दिनअघि बिरामी पर्दा केही खसी बेचेर औधषि उपचार गरेकी थिइन्। अहिले छोराछोरी वा आफू नै बिरामी परेको खण्डमा उपचार गर्ने पैसा पनि छैन रमदैयासँग।

जेठ २२ गते टीकापुरमा आयोजना गरेको पीडितहरुसँगको छाक्षात्कार कार्यक्रममा रमदैयासहित २६ जना पीडितहरु सहभागी भएका थिए। जसमध्ये रमदैया आफ्नो कुरा थारु भाषामा बोल्दाबोल्दै करिब १० मिनेटसम्म रोएकी थिइन्। काँखे छोरी बोकेर आएकी रमदैया चौधरीको कुरा सुनेपछि कार्यक्रममा सन्नाटा छाएको थियो।

त्यसपछि हामीले उनको परिवार र उनको अवस्थाबारेमा विस्तृत जानकारी लियौं। स्थानीय अभियन्ता ललिता महतोले निरन्तर उनको घरमा गएर विस्तृत जानकारी संकलन गरिन्।

हामीले रमदैयाको परिवारलाई धान्न टीकापुर बजारमा चार चक्के ठेला (रिक्सा)मा फलफूल तथा तरकारी पसल खोल्नका लागि अभियान चलाउने भयौं। तर रमदैयाले आफूलाई नेपाली बोल्न नआउने र हिसाब पनि गर्न नआउने र छोराछोरी सानो भएकोले तरकारी पसल चलाउन नसक्ने बताइन्।

पुनः हामीले उनको घरमा गएर कुराकानी गरेपछि पहिलेदेखि नै उनले बाख्रा पालन गर्दै आएको र अरु उन्नत जातका बाख्राहरु दिइए त्यसबाट आमदनी गरि परिवार चलाउन सक्ने बताइन्।

हामीले रमदैयाका लागि सात वटा उन्नत जातको बाख्रा किन्न र उनका छोराछोरीको स्कुल फिस तिर्न सहयोग गर्न अभियान चलाउने भएका छौं। सातवटा उन्नत जातका बाख्राको पाँच हजारको दरले ३५ हजार र स्कुल फिसका लागि जति संकलन भए हामीले असार १५ गतेभित्र रमदैयालाई सहयोग गर्ने जनाएका छौं।

थरुहट आन्दोलनमा राज्यबाट पीडित रमदैया चौधरीलाई सहयोग गर्नका लागि स्थानीय टीकापुरमा युवा मानव अधिकारकर्मी ललिता महतो र स्थानीय स्वस्थ्यकर्मी कृष्ण गोजिहारले पहल गर्दै हुनुहुन्छ। उनको परिवारलाई सहयोगका लागि पहल गर्न यहाँहरुलाई आग्रहसमेत गर्दछौं।

भिडियो हेर्नुस्:

नोट : रमदैयाको रोजीरोटीका लागि हुलाकीन्युजले सहयोगको अपिल गरेको छ। थारुवान डटकममार्फत् आउने सहयोग हुलाकीन्युजका सञ्चालक बीपी साहलाई हस्तान्तरण गरिनेछ। सहयोग गर्न +977 9841567487 सम्पर्क गर्न सक्नुहुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *