Oli-Sambodhan

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनताप्रति नेकपा (एमाले) सबैभन्दा बढी चिन्तित रहेको बताएका छन्। एमालेको विशेष राष्ट्रिय कार्यकर्ता भेलालाई आज सौराहामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले नेपालका हिमाल, पहाड, मधेस र तराई जहाँ जो बसे पनि सबै नेपाली भएको बताउँदै एकार्काका बीचमा मानवीय दृष्टिले बन्धुत्वको व्यवहार गर्ने काममा एमाले कहिल्यै पछि हट्दैन भने।

उनले भने, ‘धेसका जनताप्रति अहिले सरकार चिन्तित छ, नाकाबन्दी गरेर जनतालाई सास्ती दिने र आर्थिक रुपमा सङ्कटतर्फ धकेल्ने काम जो कोहीले गरे पनि अस्वीकार्य हुन्छ।’

उनले मधेसी, महिला, जनजाति, दलित, अल्पसङ्ख्यक लगायतका पक्षमा संविधानमा स्पष्ट उल्लेख रहेको बताउँदै उनले भने, ‘महिलाहरु राष्ट्रपति र सभामुख भएका छन्, यही संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ।’

यो संविधानका पक्षमा सबैभन्दा बढी बोल्ने ठाउँ एमालेलाई रहेको बताउँदै उनले न्याय, इमान्दारी र अधिकारका लागि लडेको पार्टी एमालेलाई संविधानका बारेमा बोल्ने ठाउँ नभए अरु कसलाई छ भनी प्रश्न गरे। उनले कुतर्कले जनतालाई उत्तेजित बनाउने र सधैं हामी सुनिरहने हुन सक्दैन भन्दै संविधानका अन्तर्वस्तुका विषयमा देखिएका अस्पष्टता गाउँगाउँमा पुगेर जनतालाई प्रस्ट पार्न कार्यकर्तालाई निर्देशन दिए।

‘एम्बुलेन्स जल्छन्, घाइते मारिन्छन्, प्रहरीमाथि आक्रमण हुन्छ, सरकारले कति संयमता अपनाउने?’ उनले प्रश्न गरे। उनले भने, ‘जनतालाई सास्ती र प्रहरी मार्ने काम सह्य हुँदैन।’ शान्ति र सामाजिक जीवन खल्बलाउने र अर्काको हक हनन गर्ने जोकोही माथि सरकार उदार बन्न नसक्ने बताउँदै उनले भने, ‘सरकार जनताको जिउको रक्षाका लागि मैदानमा उत्रनैपर्छ, सधैँ यसरी चल्दैन।’

उनले आग्रह गरे, ‘अब मधेस बनाऔँ, मधेसलाई पछाडि पर्न नदिऔँ।’ मधेसवादी दलसँग भइरहेको वार्ताप्रति इङ्गित गर्दै उनले कूटनीतिक प्रयास भइरहे पनि बैठकमा एकातिर बोलाए अर्कातिर जाने प्रवृत्तिले वार्ता सफल हुन नसकेको भनी व्यङ्ग्य गरे। प्रधानमन्त्री ओलीले भने, ‘कहिले आउन भ्याउनुहुन्न, कहिले अन्तै बैठक पर्छ।’

 

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *