Tharu-Morcha

थरुहट थारुवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आम हडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरेर आगामी मंसिर ५ गतेबाट पूर्व मेचिदेखि महाकालीसम्म राजमार्ग ठप्प पार्ने बताएको छ । आन्दोलनकारी मोर्चामा सत्तारुढ एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकका सांसद तथा थारु नेताहरु समेत छन् ।

घोषित अन्य आन्दोलनका कार्यक्रमहरुमा मंसिर ७ र ११ गते थारु पहिचान र अधिकार विरोधी संविधानका धाराहरु चलाउने, संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मोची काली जागरण र विरोध सभा चलाउने र मुद्दा मिल्ने पक्षसँग कार्यगत एकता गर्ने लगायत छन् ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका प्रवक्ता एवं एमाओवादी सांसद अमनलाल मोदीले आफूहरुको मुद्दा विशुद्ध थारुको भएकोले यसलाई मधेसीको एजेण्डासँग जोडेर कुण्ठित पार्न नहुने बताए ।

आफूहरु समग्र मधेसमा तीन प्रदेशको पक्षमा रहेको भन्दै मोदीले नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा, सुनसरी, मोरङ्ग, झापा, सिराहा, सप्तरी र उदयपुरको एक र बाँकी तराईमा अर्को प्रदेशगरी तीन प्रदेश हुनु पर्ने बताए । राज्यले आफूको जायज माग नसुने मुद्दा मिल्ने पक्षहरुसँग सहकार्य गर्दै आन्दोलनलाई अझै कडा पार्ने चेतावनी दिए ।

संघर्ष समितिका अध्यक्ष धनिराम चौधरीले भने मधेसी मोर्चाको दुई प्रदेशको मागमा पनि आफूहरुको विमति नरहेको बताए ।

आफूहरुले आन्दोलन गरेको तीन महिना पुरा हुँदा समेत आफूहरुको मागमा राज्य गम्भीर नभएका भन्दै उनले जनतालाई दुःख हुने भए पनि आन्दोलन गर्न बाध्य भएको दाबी गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *