सन्जु चौधरी- पिठा कुट्ना : थारु जातिको महान् पर्व माघी पुसको मसान्तभन्दा अघिल्लो राति पीठो कुट्ने चलन छ। पीठो कुट्ने दिन (ठर्‍या) युवाहरु आफ्नो घरभन्दा अन्य घरमा बठीनिया (युवती)हरु भएको घरमा पीठो कुट्न जाने चलन छ। सो दिनमा मीठो मीठो परिकार अण्डीक झ्वाँर डारु (अन्दीको चामलबाट बनाइने जाँड) पीउने चलन छ। पीठो कुटेर सकेर सबै जना पस्का (अगेना) को वरिपरि बसेर खाने चलन छ।

maghi-3

जिटा मर्ना

माघी पर्व पुस मसान्तको दिनदेखि सुरु हुन्छ। जुन दिनलाई थारुहरु (जिटा मर्ना) भन्छन् वा सुवर मर्ना पनि भनिन्छ। थारुहरुको माघीमा सुँगुरको मासु अनिवर्य हुन्छ। सुँगर मार्नुलाई जिटा मर्ना भनिन्छ। जिटा मारेको दिन सुँगुर मार्ने अनडीको रोटी बनाउने, ढिक्री बनाउने, बयरीक चट्नी, बरिया बनाउने तरुलको तरकारी हुन्छ। पुस मसान्तदेखि माघी पर्वको सुरुवात हुन्छ। सो दिन राति थारु जातिका पुरुषहरुले ढुम्रु गीत गाउने चलन छ। रातभरि जागराम बसी पुरुष बुढा पाखाहरु ढुम्रु गाउने चलन छ। ढुम्रु गीत यस प्रकार रहेको छ।

आघु आघु राम चल पाछु लक्ष्मण भाई २

केकर पिछे सीता न जानकी

अंगुठीक भल लक्ष्मण धानु काँढ चढाए

मरबु मृर्गा परि भहरावए।

maghi-1

लहान

माघ १ गतेलाई थारुहरुले लहान् भन्छन्। यस दिन सबेरै उठेर नदी वा दहमा नुहाउने चलन छ। नुहाई सकेपछि पूजा गरेर माटोमा पैसा गाड्ने चलन छ। नुहाएर आएपछि महिलाले पुरुषहरुको गोडा धोइदिने चलन छ। यो चलन अहिले हाराउँदै गएको छ। बिहानपख नुहाएको ठाउँमा केटाकेटीहरु नुहाएको पैसा खोज्न जान्छन्। नुहाएर आइसकेपछि (निसरावर कहर्ना) निसरावर भनेको विवाहित चेलीबेटीलाई दिने भाग हो। निसरावरमा नुनु, उरुड र चामल हुन्छ। नुहाएर आएका पुरुषहरुले नुन, उरुड र चामललाई ३ वा ५ उन्जरा (अन्जुली)ले नापेर चेलीबेटीको भाग दिने गर्छ। १ गते साँझ युवायुवतीको बगाल महिला पुरुषको बगालले घर घरमा गइ माघी नाच नाँच्ने चलन छ। माघीको गीत यसप्रकार हुन्छ।

बाबाके सगरी गैनु हा मुरिया लहान रे हा

बाबाके सगरी गैनु हा मुरिया लहान २

मथकि सेदुरा लुटी लैगे मछरिया हैराम ।

बाबाके सगरी गैनु हा मुरिया लहान रे हा

माथकि टुकुली लुटी लैगे मछरिया हैराम।

यस्तो प्रकारको गीतहरु गाउने चलन छ। थारु जातिको चाडपर्व अनुसारको फरक फरक लयका गीतहरु गाउने चलन छ। माघीमा ठट्टा गर्ने गीतभन्दा पनि पर्व विशेष गीत गाउने चलन छ। माघीमा रातभरि युवायुवती महिला पुरुषको आ–आफ्नो समूह हुन्छ। उमेर अनुसारको यसरी नाँच गान गरेर थारु जातिको लहानको दिन मनाउने चलन छ।

माघी देवानी

माघको २ गते माघी देवानी यस दिनमा थारु जातिमा घर घरमा गएर माघी मान्ने जाँड, रक्सी र मीठो मीठो खाने कुरा खाने चलन छ। यस दिनमा अघिल्लो दिनमा कहारेको निसरावरमा थपेर चेलीबेटीलाई खाने कुराको परिकार नुनु, उरुड र चामल दिने चलन छ जसलाई निसरावर भनिन्छ। यस दिनमा बिहे गरेर गैसकेको चेलीहरुलाई माइतीको निसरावरको निकै आश हुन्छ। छोरीहरुलाई अंशको सत्तामा निसरावर दिने चलन छ। अहिले थारु जातिमा विकृतिको रुपमा भाइ टीका भित्रिँदैछ र आफ्नो निसरावरलाई भुल्दै हामी आफ्नो परम्परा त्याग्दै गैरहेका छौं। यो कुरा हामी थारुहरुले बुझ्न जरुरी छ।maghi-2

माघी देवानी दिन पनि थारु समुदायमा नाँचगान गर्ने चलन छ। थारु जातिमा माघी १ हप्तासम्म नाँच गान गरेर मनाउने चलन छ। यसरी मनाइसकेपछि नाँचगान गरेर जम्मा भएको पैसाको नचनौरी खाने चलन छ। नाँचमा सहभागी भएका घरबाट जाँड, तरकारी र चामल उठाएर भलमन्सा वा महतान घर नचनौरी खाने चलन छ।

नचनौरीमा सुँगुरको मासु खाने चलन छ। नचनौरीको दिन कोही केटाकेटीहरुबीच मन मिलेको छ भने सो दिन भागेर जाने चलन नि थारु समुदायमा छ। माघी सकेपछि थारु समुदायमा कचेहरी बस्दछ। सो भेलामा थारु समुदायमा कसलाई के– के जिम्मेवारी तोक्ने भन्ने हुन्छ। थारु समुदायमा सो भेलाले गुरुवा कस्लाई राख्‍ने, भलमन्सा कसलाई बनाउने, चौकीदार, चिरक्या, चौधरिया, दर्जिवा, लोहरा र पहिले पहिले कमैया कमलहरीहरु बस्ने नबस्ने कुरा सो भेलामा छलफल हुन्थ्यो। यसरी थारु समुदायको माघी पर्व सम्पन्न हुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *