Lehenga

अविनाश चौधरी, धनगढी- पश्चिम क्षेत्रमा बसोबास गर्ने थारु समुदायका महिलाले लगाउने लेहेङ्गा (मौलिक पहिरन)को लोकप्रियता बढ्दै गएको छ। कुर्ता-सुरुवाल र जिन्स पाइन्टका कारण लोप हुने अवस्थामा पुगेको लेहेङ्गा अचेल निकै चम्केको स्थानीय बनाउँछन्। युवापुस्ता कुर्ता-सुरुवाल र महिलाले प्रायः साडी लगाउन थाल्दा लेहेङ्गाको प्रयोग ह्वाकतै घटेको थियो तर त्यही पहिरन पुनः चम्केको छ। विवाह, चाडपर्व, औपचारिक तथा सांस्कृतिक कार्यक्रम र पिकनिकजस्ता कार्यक्रममा सहभागी हुनका लागि अहिले लेहेङ्गा नै थारु युवाती र महिलाका लागि रोजाइमा पर्न थालेका छ।

थारु समुदायमा रहेको हरेक नृत्यमा महिलाले लेहेङ्गा लगाउनु अनिवार्य छ। एकताका वृद्धाहरुमा सीमित भइसकेको लेहेङ्गा खल्लो हुने कतिपयको बुझाइ छ। लेहेङ्गाले आफ्नो सौन्दर्य बढाएको क्रियाशिल पत्रकार महिला कैलालीका अध्यक्षसमेत रहेकी उन्नति चौधरीको भनाइ छ। आफूलाई राम्रो देखाउनका लागि सबैले लेहेङ्गा लगाउने गरेको पत्रकार चौधरीको बुझाइ छ। महत्वपूर्ण कार्यक्रममा सहभागी हुनका लागि लेहेङ्गा नै रोजाइको पहिरन बनिसकेको छ।

विशेष अवसरमा लगाउने उद्देश्यले स्थानीय महिला लेहेङ्गालाई मूल्यवान गहनाजस्तै जतनका साथ राख्‍ने गरेका छन्। यो सिलाउने खर्चिलो हुने र निकै मिहेनत लाग्ने कारण धेरै समयसम्म टिकाउनका लागि लेहेङ्गालाई जनतसाथ राखिने गरेको महिलाहरु बताउँछन्।

मौलिक पहिरन र संस्कृतिको संरक्षण गर्नुपर्ने जागरण थारु समुदायमा आएसँगै लेहेङ्गाको लोकप्रियता बढ्दो रहेको धनगढी क्याम्पस रोडकी दूर्गादेवी चौधरीले बताइन्। सिलाइ कटाइ पसलसमेत सञ्चालन गर्दै आएकी उनले लेहेङ्गाको लोकप्रियतासँगै यसको ब्यापारमा पनि वृद्धि भएको बताइन्।

लेहेङ्गा बनाउनका लागि सिपलु ब्यक्ति चाहिने र माथिदेखि तलसम्म बुट्टा हाल्नुपर्ने कारणले सिपालु ब्यक्तिले मात्रै लेहेङ्गा तयार गर्नसक्ने गरेको बेनौली-६, गदरियाकी गंगादेवी थरुनीले बताइन्। लेहेङ्गामा गुम्टी, नेफा, लेहेङ्गा, जिम्भा, पट्टी, कचौटी, सितारा, छुट्की गोठ, बर्का गोठ, फूलराजस्ता खण्ड जडान गरिएको हुन्छ। गंगोत्री थरुनीका अनुसार १० खण्ड जोडेरमात्रै एउटा बुट्टेदार, आकर्षक लेहेङ्गा तयार हुने गर्छ।

पत्रकार चौधरीले लेहेङ्गा निकै मिहेनत गरी बनाइने भएकाले यसको महत्व पनि रहेको बताइन्। गदरिया बजारमा लेहेङ्गा ब्यापार गर्दै आएका सिलाइ मास्टर हरिराम चौधरीले लेहेङ्गाको ब्यापार राम्रो भएको बताए। उनले चाडपर्वका बेला आफूले तयार गरेको लेहेङ्गाहरु बिक्री हुने गरेको बताए। लेहेङ्गा फेसनमा आएसँगै मेरो ब्यापार पनि चम्केको उनको भनाइ छ।

गोरखापत्र दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *