19 Parties Decides for Streets Protest

संविधानका विवादित विषयमा लचकतासाथ प्रस्तुत हुने निर्णय गर्दै एकीकृत माओवादी नेतृत्वको १९ दलीय गठबन्धनले लचकताको आधार तय गरेको छ। आइतबार बसेको गठबन्धन बैठकले संघीयताका विषयमा ६ प्रदेशसम्म जान सकिने निर्णय गरेको छ।

‘संख्याको विषय सत्तापक्ष दलले केही चलक हुने संकेत गरेका छन्,’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी थरुहट तराई पार्टीका नेता गोपाल दहितले भने, ‘त्यसो भयो भने नामको विषयमा हामीले पनि केही लचकता अपनाउनु पर्ने हुन्छ।’

गठबन्धनले लिम्बुवान, खुम्बुवान, नेवा र ताम्सालिङलगायतलाई अलगअलग प्रदेशको अडान राख्दै आएको थियो। तर सहमतिका लागि लिम्बुवान र खुम्बुवानलाई एउटा तथा नेवा र ताम्सालिङलाई एउटा प्रदेशजसरी प्रदेशको संख्या कम गर्न सकिने निष्कर्ष निकालेको हो।

‘बैठकले दुईवटा प्रदेशलाई एउटै बनाउन सकिने निष्कर्ष निकालेको छ,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘त्यसका लागि कांग्रेस–एमाले पनि चलकतासाथ प्रस्तुत हुनुपर्छ।’ कांग्रेस/एमाले पहिचानसहितको संघीयतामा जान तयार भए ६ प्रदेशसम्ममा जान सकिने गठबन्धनले निष्कर्ष निकालेको छ।

यसअघि विपक्षी दलहरूको गठबन्धनले १० प्रदेश र पहिचानसहितको संघीयतामा अडान लिँदै आएका थिए। मुख्य चार विवादित विषयमध्ये अन्य तीन विषयमा भने खासै विवाद नरहेको दहितले जनाए। सत्तापक्ष दल पनि संघीयताका विषयमा केही लचक हुने जानकारी बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गराएपछि गठबन्धनले पनि संघीयताका विषयमा लचकता अपनाउने निर्णय गरेको एक नेताले बताए।

बैठकमा एमाओवादी अध्यक्ष दाहालले पछिल्लो समयमा कांग्रेस/एमालेसँग भएको छलफलबारे जानकारी गराएका थिए। बैठकमा दाहालले संघीयताबाहेक अन्य तीन विषयमा सहमतिनजिक पुगेको बताएका थिए। उनका अनुसार न्यायप्रणालीमा सहमति भइसकेको छ। शासकीय स्वरूपमा मिश्रित शासन व्यवस्था अपनाउने र राष्ट्रपतिलाई अहिलेभन्दा केही बढी अधिकार दिने विषयमा सहमतिनजिक छलफल पुगेको छ। निर्वाचन प्रणालीमा कांग्रेस–एमाले प्रत्यक्ष ६० र समानुपातिकतर्फ ४० प्रतिशतसम्म मान्न तयार रहेको बताउँदै अध्यक्ष दाहालले ५०/५० प्रतिशत हुनुपर्ने अडान कायमै रहेको बताएका थिए।

बैठकमा दाहालले प्रत्यक्ष ६० र समानुपातिक ४० प्रतिशत नै भए पनि त्यसलाई स्विकार्नुपर्ने बताएका थिए। ‘बढीमा २० प्रतिशत समानुपातिक दिन सकिने अडानबाट ४० प्रतिशतमा पुग्नु पनि उपलब्धि नै हो,’ बैठकमा दाहालले भनेका थिए।

सत्तारुढ दल निकै लचिलोरूपमा प्रस्तुत भएको एकीकृत माओवादी अध्यक्ष दाहालको बुझाइ थियो। ‘अरुभन्दा पनि ओलीजीको बोली फेरिएको पाइयो,’ दाहालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘उहाँले (ओली) सपनामा पनि सहमति नै देखेँ भन्दै सकारात्मक कुरा गर्नुभयो।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *