faniraj nepalफणिराज नेपाल– मधेसवाद भनेको के हो? प्रस्ट नभई वा नपारी केही वर्षदेखि मिडियामा मधेसवाद प्रचारमा आएको छ। नभएको ठाउँ, चिज र विचारलाई आधार बनाएर गरिने प्रचारबाजी क्षणिक हुन्छ। मिडियाले पनि बिनाआधारका कुरा सम्पुष्टि गर्न खोज्नु निको होइन। नेपाली समाजमा मिडियाले गरेको यो भ्रमको खेती अर्थात मधेसवाद विगतको मधेसी आन्दोलनपछि निकै प्रचारमा आएको हो।

मधेसवाद, मधेसकेन्द्रित, मधेस मुद्दा, मधेस सवाल आदि भ्रामक शब्द प्रचारमा ल्याउनु तराईमा बस्ने ६० प्रतिशत समुदायलाई पच्ने हिसाबको छैन्। मिडियामा आएका यी शब्दका अर्थ र प्रभावबारे न मिडियाकर्मीले खुलाएका छन्, न त त्यसमा रम्ने मधेसी पार्टीले नै प्रस्ट्याएका छन् । भन्ने गरिन्छ- प्रजातन्त्रमा भिडले पनि शासन गर्छ। २०६३ को मधेसी आन्दोलन र त्यसमा दक्षिणको नजानिंदो दबाबले पनि केही हदसम्म काम गरेको छ। मिडियाले पनि बजार स्वार्थका लागि हुँदै नभएका ठाउँमा वाद जोडी थुम्थुम्याउन खोजेर अलमलिएको र अझ पनि अल्मलमै बिनाआधारको वादका पछि लागिरहेको देखिन्छ।

मधेस शब्द संस्कृत भाषाको मध्यदेशको अप्रभंश हो। भारतको पुरातन प्रदेश अर्थात् बिन्ध्याञ्चल, कुरुक्षेत्र र अलाहावादको बीचमा पर्ने मध्यक्षेत्रको नाम नै मध्यदेश हो (हिन्दी-अंग्रेजी शब्दकोश, डा. बीएन तिवारीसमेत, सन् १९७५)। मध्यदेश हुन त डाँडाकाँडा वा पहाडले घेरिएको भित्री भाग हुनुपर्‍यो। तर त्यस्तो आधार भूभाग नेपालको दक्षिणी तराई क्षेत्रमा छैन। यो क्षेत्र भारत-परिवेष्ठित छ, जसका कारण समुद्रसम्मको पहुँचमा देशले अनेक बाधा व्यवधान बेहोर्नुपरेको छ।

चुरेपछिका समथर भाग, कतैबाट नघेरिएको, सम्म परेको मैदानी इलाका नै तराई हो। ऐतिहासिक कालमा यो इलाका तरी कहलिन्थ्यो। वषर्ाको पानी पहाड वा उच्च ठाउँबाट झरी समथल क्षेत्रमा जम्ने भागलाई तरी अर्थात् तराई भनिन्छ। फारसी भाषाबाट तराई शब्दको अर्थ ओसिलो, समथर भूभाग भन्ने बुझिन्छ। १८ औं शताब्दीको गोर्खाली कागजपत्रहरूमा तरियानी भनी घना जंगलले ढाकिएको पूर्वी तराईको जिल्लाहरूको नाम उल्लेख भएको पाइन्छ (मधेसः समस्या र समाधान, सोसल साइन्स वहाः, सन् २००६)। विसं १९६८ को नेपालको पहिलो जनगणनाको जनसंख्या सारिणी विवरणमा पूर्वी तराई, मध्य तराई, पश्चिम तराईको जनसंख्या भनी मेचीदेखि महाकालीसम्मका जिल्लाहरूको नाम उल्लेख गरिएको पाइन्छ।

पुरातनमा तराई औलो प्रकोप, जंगल, बुट्यान र जंगली जनावरहरूको आश्रयस्थल रह््यो। वर्षभरिलाई चाहिने नुन, तेल, लत्ताकपडा आदि किन्न वर्षको एक खेप पहाडबाट झरी चुरेको फेदमा बास बसी भोलिपल्ट सखारै हिंडी किनमेल सिध्याएर पुनः फेदीमै बास बस्न पुग्थे, आंैलो र जंगली जनावरको सन्त्रासले। तत्कालीन समयमा तराईमा बासस्थान कमजोर थियो। राणाकालको अन्त्यतिर शासन जोगाउने ध्येयले भारतीय पुलपुलेसा, रेल्वे लिकका लागि जंगल कटानी गर्न पारिका मानिस रुख काट्न, ओसार्न र आवाद जग्गा स्याहार्न ल्याइएका मध्यदेशका मानिसको बासस्थल बढदै गएर गुल्जार हुँदै गएको हो। पछि कोसी, वाग्मतीको बाढीबाट विस्थापित भई देशीहरू खेतीपाती र अन्य कामका लागि आउँदै, जाँदै, बस्दै, आफ्ना दियाद ल्याउँदै रोजगारीका लागि तराई आएकाहरू अहिले धेरैजसो मधेसी बासिन्दा भएका हुन्।

नेपालको सम्पूर्ण क्षेत्र भौगोलिक हिसाबले चार प्रदेशमा विभाजन भएको कुरा विगतदेखि नै अध्ययन तथा अध्यापन हुँदै आएको यथार्थ हो : हिमाल, पहाड, भित्री मधेस र तराई। चुरेमास्तिर पूर्व मेचीदेखि महाकालीसम्मको भूभागको बीचमा पहाडले घेरिएको उदयपुर, सिन्धुली, चितवनमा थारू समुदायको बाहुल्यसँगै पहाडी समुदायको पनि बसोबासको थलो हो। त्यहाँ विगतमा यातायात र व्यवसायको विस्तारका क्रममा अन्यत्रबाट आएर व्यापार, व्यवसाय गरी बसेकाहरू अहिले छन्। २०६८ सालको जनगणनाअनुसार देशको कुल जनसंख्यामा तराईको जनसंख्या ५० प्रतिशत भएकोमा मधेसी समुदाय २० प्रतिशत छन् र तराईको जनसंख्याको ४० प्रतिशत मधेसी रहेकामा बाँकी ६० प्रतिशतमा पहाडी ३६, आदिवासी थारू र जनजाति १५ र मुसलमान ९ प्रतिशत छन्।

शब्द खासै केही होइन, तर त्यसको भाव र अर्थले पार्ने प्रभाव मुख्य कुरो हो। मधेस भन्नेबित्तिकै मध्यदेशको झल्को दिन्छ। तराईको विविध जात, भाषा, संस्कृतिलाई विचार गर्ने हो भने हिमाल, पहाडको तुलनामा तराई बढी समावेशी, बहुसांस्कृतिक र विकसित छ। व्यापक र साझे अर्थ दिने, समावेशी बहुल समुदाय समेटिने शब्द तराई मधेसभन्दा बढी समावेशी, बहुपक्षी छ र उपयुक्त पनि। हिमाल, पहाड, तराई प्राचीन, ऐतिहासिक, भौगोलिक, जनजिब्रोमा भिजेको सरल, सहज र समावेशी अरू शब्द हुन सक्तैन।

तराईबारे मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको भनाइ समावेशी, सटिक र आधारसहितको छ, ‘तराईको भूभागमा बस्ने सबै तराईवासी नै हुन्, यो यथार्थ हो। तर तराईमा बस्ने सबै मधेसी हुन सक्तैनन्। मधेसिया भनेको त कुनै खास भाषा, भेषभूषा, रहनसहन र परम्परा भएको समुदाय हो। यसर्थ तराईमा बस्ने सबै तराईवासी हुन सक्छन् तर मधेसिया हुन सक्तैनन् ।’ (नेपालको मधेसी समुदायको समस्या र समाधानको बाटो, २०५५, पृष्ठ १४)

निचोडमा मधेस शब्द आयातीत लाग्ने हुनाले स्थानीय, राष्ट्रियस्तर सुहाउँदो र सबै समुदाय समेटिने तराई भन्नु, वा कहलाउनु उपयुक्त हुन्छ। मधेस शब्दले खास मधेसी समुदायको मात्र प्रतिनिधित्व हुने र अरू वर्ग वा समुदाय समेटिने हुँदैन । तसर्थ मिडियाले तराईलाई मधेस नभनी तराई भन्ने, लेख्ने, बोल्ने र प्रसारित गर्ने गरौं। तराई वा तराईवासी भन्दा, लेख्दा, बोल्दा सबै वर्ग समेटिने र सामाजिक सद्‌भाव बढ्ने हुन्छ।

कान्तिपुर दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *