विभिन्न बहानामा थारु जातिलाई फुटाउने कोसिस भइरहेको छ : मन्त्री भगवती चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन्। थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौंमा आयोजना गरेको ‘थारु भाषा संस्कृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।

संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उनले त्यसपछि राज्य र समाजको हुने बताइन्। थारु जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उनले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको बताइन्। ठाउँअनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताइन्।

‘भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन्। त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ। थारु भाषाको लिपिको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ। ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन्। तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ। त्यो एकदमै जरुरी छ।’

उनले थारु जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन्। सोझो जातिको रूपमा चिनिने थारु जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्वासी बनाएको उदाहरण दिँदै उनले आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताइन्।

‘हामी अब आर्थिक गतिविधिमा बढीभन्दा बढी सहभागी हुनैपर्छ। किनभने जो आर्थिक गतिविधिमा सहभागी नै हुँदैन त्यो कसरी सम्पन्न बन्न सक्छ?’, उनले भनिन्, ‘अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा वृद्धि हुँदैन। जसले गर्दा गरिबी न्यूनीकरण पनि हुन सक्दैन।’ मन्त्री चौधरीले जन्मदेखि मृत्यु पछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने बताइन्।

त्यस्तै उनले विभिन्न बहानामा थारु जातिलाई फुटाउने कोसिस भइरहेको भन्दै फुटलाई रोक्नुपर्ने बताइन्। ‘हिजो राना थारु छुट्टिन खोज्दा हामीले छलफल गरेर नछुट्टिन आग्रह गर्‍यौं। तर उहाँहरू छुट्टिएर जानुभयो। अहिले खवास थारुले निवेदन दिएको कुरा आएको छ’, मन्त्री चौधरीले भभिन्, ‘यसरी त थारु जातिको जनसङ्ख्या न्यून हुँदै जान्छ। जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो। यो कुरा सबैले बुझ्न आवश्यक छ।’

त्यस्तै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा सरकारी कामकाजी भाषा थारु बनाउन भाषा आयोगको सिफारिस अनुसार त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए। थारु भाषालाई स्थानीय रूपमा पाठ्यक्रममा राखेर भाषा संरक्षणमा भूमिका खेल्न सकिने उनले चर्चा गरे। राना थारु समुदाय थारुबाट अलग सूचीकरण भएर स्थानीय तहमा सीमित भएको उनले बताए।

कार्यक्रममा भाषाविज्ञ डा. रामबहादुर चौधरी र उपप्राध्यापक महेशकुमार चौधरीले ‘थारु भाषा र सांस्कृतिक एकरूपता र विविधता’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए। पूर्वको झापादेखि पश्चिमका कञ्चनपुरसम्मका भाषालाई नमुनाका रूपमा लिई बोली र लेखन एकरूपता विषयमा प्रस्तुति गरे भाषा विज्ञानका अनुसार थारु भाषामा ७० प्रतिशत बढी बोधगम्यता रहेकाले मानक भाषा बनाउनमा समस्या नभएको उनीहरूको भनाइ छ।

कार्यक्रममा पत्रकार लक्की चौधरीले कार्यपत्रमाथि टिप्पणी गर्दै भाषा र संस्कृति एक अर्काको परिपूरक भएकाले पहिचान जोगाउन भाषा र संस्कृतिको अपरिहार्यता रहेको बताए। पश्चिमदेखि पूर्वसम्म तराईमा छरिएर बसोबास गर्दैआएका थारु समुदायको भाषामा उच्चारण केही अन्तर भए पनि करिब ९० प्रतिशत शब्दमा बोधगम्यता रहेको उनको दाबी छ। भाषा र संस्कृति दुवै मानव निर्मित विषय भएकाले यो परिवर्तनशील भएको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *