भारत सरकारद्वारा निर्मित विद्यालय भवनको उद्‍घाटन

भारत सरकारद्वारा निर्मित नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको उद्‍घाटन गरिएको छ। प्रतिनिधिसभा सांसद शशांक कोइराला, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले संयुक्तरूपमा उद्‍घाटन गरेका हुन्।

‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको कूल २ करोड ७५ लाख रुपैयाँ अनुदान सहयोगमा उक्त विद्यालय भवन निर्माण गरिएको हो। विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै कक्षाकोठा, परीक्षा, प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीवविज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, छात्र र छात्राका लागि छुट्टै शौचालय निर्माण गरिएको छ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो। अतिथिहरूले भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए। विद्यालयको नयाँ भवनले विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै सिकाइका लागि राम्रो वातावरण सिर्जना हुने भारतीय दूतावासले बताएको छ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ। तीमध्ये ४९० वटा परियोजना सम्पन्न भइसकेका छन्। नवलपरासी (पूर्व)मामात्रै ३ परियोजनासहित गण्डकी प्रदेशमा ५९ वटा परियोजना रहेका छन्। भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य हुँदै आएको छ। यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको दूतावासले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *