बजेट काटिएपछि रुष्ट छिन् मन्त्री भगवती चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेकपा एमालेबाट मन्त्री बनेकाहरूले चलाएको मन्त्रालयमा बजेट काटिएको आरोप लगाएकी छन्। विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री चौधरीले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि आएको बजेटमा एमालेले नेतृत्व गरेको मन्त्रालयरूको बजेट काटिएको गुनासो गरिन्।

‘एमालेबाट मन्त्री बनेका मन्त्रालयहरूमा अलि बढी नै बजेट काटिएको छ,’ उनले भनिन्, ‘त्यसमा पनि मेरो मन्त्रालयमा झन् बढी काटिएको छ।’ आफ्नो मन्त्रालयलाई सबैभन्दा कम बजेट छुट्याइएको उनको गुनासो छ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेटमा सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाएको छ। उक्त मन्त्रालयको लागि आगामी आर्थिक वर्ष एक अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाइएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महत्त्वपूर्ण मन्त्रालय भए पनि बजेट कम दिइएको बताउँदै बजेट ल्याउनुअघि छलफम कम भएकोसमेत औंल्याइन्।

छलफलबिनै बजेट आएको भन्दै सत्ता साझेदार दलसमेत रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाटे कटाक्ष गरिरहेका छन्। जसकारण सत्ता समीकरणमा फेरबदल आउनसक्नेसम्मको टीका-टिप्पणी भइरहेको छ।

तथापि, सत्ता समीकरणमै परिवर्तन नहुने बताए पनि मन्त्री चौधरीले एमालेबाट मन्त्री बनेकाहरूले चलाएको मन्त्रालयमा बजेट घटाइएको गुनासो गरिन्। मन्त्री चौधरीले केही नयाँ कार्यक्रमलाई प्रभावकारी ढंगले पारित गराउन लागिपरेको बताउँदै सरकारले ती कार्यक्रमकै लागि भए पनि आफू नेतृत्वको मन्त्रालयको बजेट बढाउनुपर्ने बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *