कृषिमा लगानी दशक घोषणाप्रति सांसद चौधरीले खोजे ठोस कार्ययोजना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले बजेट कार्यान्वयनको पक्षलाई बलियो बनाउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन्  सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै चौधरीले आर्थिक अनुशासनमा रहेर सरकारले आगमी आर्थिक वर्षको बजेट परिचालन गर्न विशेष ध्यान दिनुपर्ने बताए।

कृषिमा अग्रिम कर लगाउने खालको प्रावधान पनि बजेटमा आएको उल्लेख गर्दै चौधरीले त्यसलाई तत्काल हटाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराए । ‘कृषिमा अग्रिम आयकरको व्यवस्था बजेटमा गरिएको छ । यसले कृषि उद्योगीहरू मारमा पर्ने हुँदा स्वदेशी उत्पादनमा यसको तत्काल असर पर्ने देखिने हुँदा यसमा विचार गरिदिनुहुन पनि अर्थमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘यस वर्षको बजेटले अघिल्लो वर्षको भन्दा १ अर्ब ६९ करोड कम बजेट विनियोजन गरेको देखिन्छ । कृषि जस्तो महत्त्वपूर्ण क्षेत्रमा बजेट अभाव एवं कम प्राथमिकतामा पर्नु हुँदैन्थ्यो ।’

सांसद चौधरीले बजेटमा कृषिमा लगानी दशक घोषणा गरिएको उल्लेख गर्दै त्यसका लागि ठोस कार्ययोजना बनाउन सरकारलाई सचेत गराए । ‘बजेटले यस वर्ष कृषिमा लगानी दशक घोषणा गरेको छ । यसलाई सकारात्मक रूपमा लिन सकिने भए तापनि यसको निरन्तरता एवं ठोस कार्य योजनामा ध्यान दिन आवश्यक देखिन्छ,’ उनले भने, ‘हरेक वर्षको बजेटमा विशेष नारा दिने तर उपादेयता केही पनि नरहने परिपाटी रहेका देखिन्छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *