रामदिन महतो, जसले ३० वर्षदेखि जडिबुटीबारे निःशुल्क ज्ञान बाँड्दैछन्

कारी महतो/चितवन।
रत्ननगर नगरपालिका वडा नं. ८ बाघमारा निवासी ६६ वर्षीय रामदिन महतो सन् १९९४ देखि नेपालमा पाइने जडिबुटीहरूको औषधीय गुणहरूबारे थारू गुरौको विधि र पद्धतिअनुसार व्यवहारिक अध्ययन गरी अहिले परम्परागत ज्ञानगुन बाँड्दैछन्।

नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा थारू कल्याणकारिणी सभा चितवनको सहआयोजनामा जेठ १० देखि १४ सम्मको लागि आयोजना भएको थारू गुरौको विधि तथा जडिबुटी सम्बन्धी प्रशिक्षण कार्यक्रममा उनी अहिले प्रमुख प्रशिक्षकको रूपमा रहेका छन्। उनी पेसाले नेचर गाइड भए पनि समय परिस्थितिले जडीबुटीतर्फ समेत आकर्षित गरेको बताउँछन्।

चालिस वर्षअघि एकदिन उनी बिरामी भई अस्पतालमा चेकजाँचपछि निकै लामो समयसम्म औषधि खाँदा पनि निको नभएपछि थारू गुरौको विधि र जडीबुटीबाट ठीक भएको बताउँछन्। त्यसैबाट प्रभावित भई थारू गुरौहरूले प्रयोग गर्ने जडीबुटीहरू पहिचान गर्ने र प्रयोग विधिसिक्ने सोंच बनाएको बताउँछन्।

उनी नेचर गाइडको रूपमा टाइगर टप्समा काम गर्ने क्रममा बर्दियासम्म पुगे। त्यहीँबाट उनले जडीबुटीहरूको नामहरू संकलन गर्नुका साथै प्रयोग विधि र मात्राबारे व्यवहारिक अध्ययन सुरु गरेको बताउँछन्। अहिले उनले त्यससम्बन्धी दुईवटा किताब बराबरको पाण्डुलिपी तयार गरेका छन्। उनले सयौं सामान्य व्यक्तिदेखि सयौं धामी, गुरौ, वैद्यहरूको व्यवहारिक अनुभवहरूलाई संकलन गरेको र ती अधिकांश व्यक्तिहरू अहिले यो संसारबाट विदा लिइसकेको बताउँछन्।

‘ती व्यक्तिहरू थारू गुरौमात्र नभई अन्य आदिवासी जनजाति, बाहुनक्षेत्री, दलित, मधेसी, महिला वा पुरुष थिए,’ उनी बताउँछन्। जडीबुटीसम्बन्धी ज्ञान हासिल गर्न सजिलो नभएको बताउँछन्। कुनै कुनै एउटै जडिबुटीबारे सिक्न चार वर्ष लागेको तीतो अनुभव सुनाउँछन्। जानेको व्यक्तिले सजिलै सिकाउन नचाहेको कारणले यति समय लागेको बताउँछन्। एकपटक एउटै जडिबुटीबारे सिक्नलाई एकजना पाँच हजार नगद दिएर सिकेको बताउँछन्। तर, थारू गुरौहरूले भने निःशुल्क सिकाएको बताउँछन्। उनलाई जडीबुटीसम्बन्धी ज्ञानगुन सिकाउने गोठौलीका स्व. परमेश्वर महतो, बस्यौलीका स्व. नवलकिशोर चौधरी, बाघमाराका स्व. सुदर भगत (फौदार), सिसुवारका स्व. अजित महतो, बछुलीका स्व.मागर महतो, झुवानीका स्व. श्रीराम महतो, माडीका स्व. ठागाराम महतो, माडीका किसुन महनतो इत्यादि कैयौं गुरौहरूलाई उनले स्मरण गर्छन्।

हिजोआज कसैले कुनै रोग वा समस्याबारे सोधपुछ गर्दा उनले विनाशुल्क लिई परामर्श दिन्छन्। कुन रोगका लागि कुन-कुन जडिबुटी कसरी प्रयोग गर्दा फाइदा पुग्छ, यी सम्पूर्ण जानकारी दिनुका साथै त्यो जडिबुटी कहाँ पाइन्छ, आदि सम्पूर्ण जानकारी निःशुल्क दिन्छन्। उनी आफूले पहिचान गरेका जडिबुटीहरूलाई अहिलेसम्म व्यावसायिकरूपमा प्रयोग नगरेको बताउँछन्। धेरैजसो जडीबुटी कसराको जंगल र हाम्रै घर वरपर पाइने भए पनि कुनै-कुनै जडिबुटी बर्दियाको जंगलमा मात्र पाइने हुँदा उतैबाट ल्याउनुपर्ने हुन्छ।

विश्वका कतिपय मुलुकहरूले धेरैजसो जडिबुटीहरूको व्यावसायिक खेती गर्न थालेको हुँदा नेपालमा पनि व्यावसायिक रुपमा जडिबुटी खेती गर्नुपर्ने प्रशिक्षक गुरो रामदिन महतो बताउँछन्। प्रशिक्षण कार्यक्रम थारू कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीको अध्यक्षता तथा थारू कल्याणकारिणी सभाका केन्द्रीय उपाध्याक्ष विष्णु कुमारी चौधरीको प्रमुख आतिथ्यमा जेठ १० गते शुभारम्भ गरिएको हो।

जेठ १४ गतेसम्म हुने प्रशिक्षण कार्यक्रममा जल्लु चौधरी, विश्राम महतो, शनिचर पावे, टिकेन्द्र चौधरी लगायत प्रशिक्षक रहेका छन्। कार्यक्रमको सहजीकरण थाकस चितवनका सचिव सन्तकुमार चौधरीले गरेको छ भने थाकस चितवन प्रगन्ना नं. ५ बेलोधका सभापति रामनारयण महतोले कार्यक्रम संयोजन तथा व्यवस्थापन गरेका छन्।




One thought on “रामदिन महतो, जसले ३० वर्षदेखि जडिबुटीबारे निःशुल्क ज्ञान बाँड्दैछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *