रञ्जितालाई रेशमको प्रश्न- हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ?

रेशम चौधरी।

शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरू सबको पहिचान छ। कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ। यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन। मेरो चरित्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला।

प्यारी रञ्जिता, मैले तिमीलाई मुद्दा हालेको होइन, निर्वाचन आयोगलाई हो। अदालतले कारण देखाउ आदेश जारी गर्दा निर्वाचन आयोगको जवाफमा तिमीलाई पनि सोध्ने आदेश गरेको मात्रै हो। तिललाई पहाड बनाउनु हुन्न, समाजमा धेरै जान्ने बुझ्ने मान्छे छन्।

केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौं।
तिमी सोझी र अन्जान छ्यौ तर मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए।
१. माननीय इन्दिरा गिरीलाई कारबाही गर्न उक्साए।
२. माननीय घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन लागाए।
३. तिमीलाई उकासी उकासी पत्रमाथि पत्र काट्न लगाए।

यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो। यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरी नै राखेका छन्। तर अब रोकिनु हुन्न। संवादको सुरुवात गरे दुबैको मन हल्का होला। नबिर्सनु रन्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाएजस्तो नाटकमात्रै गरेका हुन्। वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याइराखेका मात्रै हुन्।

सरल तरिकाले बुझ तिमी, मैले निर्वाचन आयोगको फैसला अदालतभन्दा गम्भीर र त्रुटिपूर्ण देखेपछि त्यसको प्रतिवादमात्रै गरेको हुँ। सबका सामु अध्यक्ष स्वीकारेको छु, तिम्रो मानमर्दन गरेको छैन। तिमीले यत्ति बुझ्नु रन्जु, हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ? यो दुबै नबनेर नागरिक उन्मुक्ति पार्टीमात्रै बनोस् भन्ने मेरो चाहना हो।

तिमीले बुझ्नु, यो चटकेहरूले हिजो म निर्दोष छ भन्दै मेरो गीत बजाएर भोट मागे, आज किन मलाई दोषी करार गरेर जेल हाल्ने षड्यन्त्र गर्दैछन्। मैले त राम्रोसँग बुझेको छु रन्जु, तिमी सिद्धिनु भनेको म सिद्धिनु हो तर तिमीले बुझेकी छ्यौ कि छैनौ, म सिद्धिनु भनेको तिमी पनि सक्किनु हो?

हाम्रो आन्तरिक भेद बाहिर निकाल्न खोल्नेहरू दुबैका होइनन्। हामी सचेत रहनुपर्छ। तिमीलाई मेरो सुझाव छ रन्जु,अहिले केही दिन ३ तत्वबाट टाढा रहनु,
१. छोरी भन्नेसँग
२. भाउजु भन्नेसँग
३. भान्जी भन्नेसँग
यी ३ को खेलबाट बच्नु कल्याण आफैं हुन्छ।

जसले तिमीलाई मन्त्रीज्यु भन्छ त्योचाहिँ तिम्रो असली कार्यकर्ता हो।
अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु। केवल २ जनाको मात्रै वार्तालाप होस्। एक आपसमा मन माझौं। मिल्दा पनि मनैले मिलौं, छुट्टिदा पनि जग नहँसाएर छुट्टिऔं। हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ। यसैमा दुबैको भलाई छ र पार्टीको कल्याण पनि।




Leave a Reply

Your email address will not be published. Required fields are marked *