केपी ओलीभन्दा चतुर माधव नेपाल, सोडारीलाई मुख्यमन्त्री बनाउन भए सफल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा कयौं गुणा चतुर भएको प्रमाणित गरेका छन्। सुदूरपश्चिम प्रदेशको आफ्ना नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा बनाएर उनले आफू कोहीभन्दा कम नभएको ओलीलाई सन्देश दिएका छन्।

नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सत्ता गठबन्धनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस सहमतिलाई लत्याएर नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन निर्देशन दिए।

गत वैशाख २ गते कैलाशले मुख्यमन्त्रीमा दाबी पेस गर्नुअघि नै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्तिकै लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरे। बहुमत संख्या पुर्‍याएका लक्ष्मणसँगै केही बेरमै कैलाशले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दुई दिन ‘होल्ड’ गरेको उक्त दाबी दोस्रो दिनमा दीर्घ सोडारीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाले माधव नेपाललाई सहमति पालना गर्ने आश्वासन दिएपछि सोडारीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएका थिए।

यता एमाले अध्यक्ष ओलीले कुनै हालतमा सोडारीलाई मुख्यमन्त्री बन्न नदिने अडानमा थिए। उनले सोडारी विवादित छबिको रहेको भन्दै एकीकृत समाजावादीबाट अर्को पात्रलाई मात्रै मुख्यमन्त्रीमा समर्थन गर्न सकिने अर्को अडान तेर्साएका थिए।

ओलीको नियतबाट वाक्क भएका माधव नेपाल त्यही रात प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। उनले देउवालाई सुदूरपश्चिममा समर्थन गर्न मनाएका थिए। एमालेले समर्थन नगरे दीर्घ सोडारीलाई कांग्रेसले समर्थन गर्ने वक्तव्य नै सार्वजनिक भयो।

देउवा र नेपालको भेटले प्रधानमन्त्री दाहाल र ओली सशंकित बनेका थिए। गठबन्धन नै भत्किने त्रासले झापाबाट काठमाडौं आएका ओली सिधै सिंहदरवारमा प्रधानमन्त्री दाहाललाई भेटेका थिए। गठबन्धन तलमाथि हुने त्रासले नै होला ओलीले सोडारीलाई समर्थन गर्न सुदूरशपश्चिम एमालेलाई निर्देशन दिएका थिए।

अन्ततः ओलीले आफूलाई जति चलाख माने पनि सुदूरपश्चिमको मामिलामा ओलीभन्दा चतुर माधव नेपाल देखिएका छन्। गठबन्धनमा आफूलाई हेपिएको ठानिएका माधव नेपालले भोलिका दिनमा कांग्रेससँग वैकल्पिक गठबन्धन नबनाउँला भन्न सकिँदैन। त्यसो त माधव नेपालको कदमले सिंहदरवार पनि थर्कमान भएको छ। हिजो प्रधानमन्त्री दाहाल र ओलीको भेट पनि यिनै विषयवस्तुमा केन्द्रित रह्यो। जसरी हुन्छ गठबन्धनलाई जोगाउने दुई नेता सहमत भएको स्रोतको दाबी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *