सुदूरपश्चिमको मुख्यमन्त्रीमा रेशम र रञ्जिता पक्षका दुई जनाले गरे दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य कैलाश चौधरीले पनि दाबी पेस गरेका छन्। उनले नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्। एक जना स्वतन्त्र सांसदले पनि उनलाई समर्थन गरेका छन्।

यसअघि नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका छन्।

कैलाश नागरिक उन्मक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् भने लक्ष्मण रेशम चौधरी पक्षका हुन्। केही दिनअघि मात्रै रेशम चौधरीले प्रदेशसभा सदस्यहरूलाई डाकेर लक्ष्मणलाई मुख्यमन्त्री बनाउने प्रस्ताव अघि सारेका थिए। यता रञ्जिताले केन्द्रको गठबन्धनअनुसार कैलाशलाई मुख्यमन्त्रीमा अघि सारेका हुन्।

मुख्यमन्त्रीकै विषयमा नागरिक उन्मुक्तिभित्र तिव्र विवाद रहेको छ। रञ्जिताले यसअघि नै प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरिसकेकी छन्। उनले संसदीय दलका नेतासमेत रहेका घनश्याम चौधरीलाई पनि ३ महिनाका लागि निलम्बन गर्ने निर्णयसहितको पत्र प्रदेशसभामा पठाएकी थिइन्।

विवादका बावजुद सुदूरपश्चिमको मुख्यमन्त्रीमा रेशम पक्षका सांसद लक्ष्मण किशोरले गरे दाबी पेस
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्। उनले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलको नेताका हस्ताक्षरसहित आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्।

चौधरीले पेस गरेको दाबी पत्रमा नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले हस्ताक्षर गरेका छन्।

५३ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्तिका ६ (कारबाही परेकाबाहेक), कांग्रेसका १८ र एकीकृत समाजवादीका ४ सांसद रहेका छन्। तीन पार्टीको संख्या जोड्ने हो भने बहुमत पुग्ने देखिए पनि नागरिक उन्मुक्ति पार्टीभित्रै तिव्र विवाद देखिएको छ।

नागरिक उन्मुक्तिभित्र तिव्र विवाद
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कसलाई बनाउने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र तिव्र विवाद देखिएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने अडान लिँदै आएका छन्। उनले शनिबारमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर कैलाशलाई मुख्यमन्त्री बनाउने माग गरेकी थिइन्। प्रधानमन्त्री दाहालले पार्टीभित्रको विवाद मिलाएर नाम प्रस्ताव गर्न आग्रह गरेका थिए।

‘कैलाशलाई मुख्यमन्त्री बनाए पनि पार्टीभित्रको सहमति गर्नुहोला। सुदूरपश्चिममा पहिले तपाइँहरूले नै नेतृत्व गर्नुहुन्छ,’ प्रधानमन्त्री दाहालले आश्वासन दिएका थिए। रञ्जिताले कैलाशको पक्षमा समर्थन जुटाउन तिव्र लबिङसमेत गरेकी थिइन्। उनले केही दिनअघि मात्र सुदूरपश्चिम प्रदेशका दलका नेता घनश्यामको जिम्म्वारी खोसेर कैलाशलाई दलको नेता तोकेकी थिइन्। तर, आफ्नै निर्णय लागू नहुने देखेपछि रञ्जिताले दलका नेता घनश्यामलाई ३ महिनाका लागि निल्बन गरेका थिए। यस विषयमा संसद सचिवालयले केही निर्णय सुनाएको छैन।

यता मुख्यमन्त्रीमा दाबी पेस गरेका लक्ष्मण रेशम चौधरी पक्षका हुन्। केही दिनअघि मात्रै रेशम चौधरी र प्रदेशसभा सदस्यहरूको छलफलले लक्ष्मणलाई मुख्यमन्त्रीको रूपमा अगाडि बढाउने सहमति भएको थियो। स्रोतका अनुसार कैलाश चौधरीले गठबन्धनका तर्फबाट आजै मुख्यमन्त्रीमा दाबी पेस गर्दैथिए। तर, उनले पेस गर्नु अगावै लक्ष्मण किशोरले दाबी पेस गरेका छन्।

रेशम चौधरी निकट नेताका अनुसार एकीकृत समाजवादीले समर्थन जनाउने भएपछि लक्ष्मणले दाबी पेस गरेका हुन्। प्रधानमन्त्री दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका थिए। तर अन्तिममा नागरिक उन्मुक्तिले पाउने भएपछि उनीहरू पनि रुस्ट भएको स्रोतको भनाइ छ।

‘गठबन्धनबाट एकीकृत समाजवादी पनि रुस्ट हुनुहँदो रहेछ। आफ्नै नेतृत्वमा सरकार बनाउन नपाएपछि बरु नागरिक उन्मुक्तिकै सरकारमा गएर भनेबमोजिम मन्त्रालय लिने दाउँ उहाँहरूको रैछ। त्यसमा रेशम चौधरी पनि सकारात्मक हुनुहुन्छ,’ स्रोतको दाबी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *