संघीयता धरापमा पर्‍यो : पूर्व मुख्यमन्त्री डिल्ली चौधरी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएका छन्। मुख्यमन्त्री जोखबहादुर महराले मागेको विश्वासको मतमाथि बोल्दै शुक्रबार उनले प्रदेश प्रमुखकै कारण संघीयता जोखिममा परेको आरोप लगाएका हुन्।

प्रदेश प्रमुखले संविधानमुखी नभई पार्टीको अनुकूल, आफू अनुकूल निर्णय गर्दा संघीयता नै संकटमा परेको चौधरीको आरोप छ।

आफ्नो प्रदेश प्रमुख भएपछि जे पनि गर्न मिल्ने, अर्काको भएपछि संविधान पल्टाउनुपर्ने विगतको खेल अहिले पनि सुरू भएको बताउँदै चौधरीले भने, ‘यो एउटा प्रदेशमा मात्रै होइन, सबै प्रदेशमा सुरू भएको छ । त्यसले हामीलाई कहाँ पुर्‍याउँछ ? प्रदेश प्रमुखले नै संघीयता खान्छन् कि भन्ने देखिन्छ।’

चौधरीले अगाडि भने, ‘लाग्छ कि अब त हाम्रो प्रदेश प्रमुख भगवान नै हुन् कि जस्तो! संविधान पनि पल्टाउनु नपर्ने, कानुन पनि पल्टाउनु नपर्नेजस्तो चिजहरू पनि आउन थालेका छन्।’

चौधरीले राष्ट्रपति र प्रदेश प्रमुखले सबैभन्दा धेरै संघीयता र संविधानको मर्म, भावना बुझ्नुपर्ने सुझाए । अब पनि प्रदेश प्रमुखहरूले आफूखुसी संविधान र संघीयताविरोधी काम गर्दैै गए संघीयता नै नरहने स्थिति आउने चेतावनी दिए।

‘अब हुने प्रदेश प्रमुखहरू साँच्चै संविधानलाई माया गर्ने बनाउन सक्छौं कि सक्दैनौं ? त्यसले पनि संघीयताको मर्म र भावनालाई अगाडि बढाउँछ भन्ने मलाई लाग्छ’, उनले भने।

कांग्रेस संसदीय दलका नेता चौधरीले प्रधानमन्त्री नै संघीयता विरोधी काममा लागेको आरोप समेत लगाए। उनले संघीयता कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सोच्नुपर्ने बेला भएको टिप्पणी गरे।

‘प्रधानमन्त्रीज्यूलाई पनि म त सबैभन्दा ठूलो खेलाडी भन्ने लाग्या होला। तर, नेपाली जनतालाई के दिएँ ? के पाएँ ? संविधान कार्यान्वयन गर्दैछु कि गर्दै छैन । उहाँले पनि सोच्नुपर्ने बेला भएको छ’, चौधरीले भने।

संघीयता कार्यान्वयन प्रधानमन्त्री प्रचण्डकै कारण खतरामा रहेको आरोप लगाउँदै चौधरीले भने, ‘फुत्त यता फुत्त उता गर्दा संविधान नै हामीले खाइदिन थालेका हौं? प्रधानमन्त्रीले साँच्चै संविधान कुल्चेर नयाँ जनवादका कुरा गर्नुभएको हो कि ? संविधानलाई सकेर, प्रजातन्त्र अन्त्य गर्न सोच्नु भएको हो?’




Leave a Reply

Your email address will not be published. Required fields are marked *