प्रधानमन्त्रीको प्रस्तावमा रेशमको जवाफ- सुदूरमा पाँचैजना मन्त्रीलाई निरन्तरता दिएमा समर्थनबारे सोच्न सकिन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। सरकारमा जाने नजाने विषयले रेशम-रञ्जिताबीच विवाद भइरहेका बेला प्रधानमन्त्री दाहालले उनीहरूसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले रञ्जितासँग मंगलबार विहान बालुवाटार भेट गरेका थिए भने रेशमसँग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेट गरेका थिए। प्रधानमन्त्री दाहालले सुदूरपश्चिम र लुम्बिनी सरकारका विषयमा दुवैसँग छलफल गरेका हुन्।

प्रधानमन्त्रीले प्रदेश सरकार गठनका लागि दुवैसँग सहयोग मागेको स्रोतको भनाइ छ। नागरिक उन्मुक्तिले संघमा प्रधानमन्त्री दाहाललाई समर्थन गरे पनि सुदूरपश्चिम र लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकारलाई सघाइरहेको छ। सुदूरपश्चिममा नागरिक उन्मुक्तिका ५ जना सांसद मन्त्री बनेका छन् भने लुम्बिनीमा पनि नागरिक उन्मुक्ति सरकारमा सहभागी छ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री दाहालले सुदूरपश्चिममा मुख्यमन्त्रीको प्रस्ताव गरेको बताए। ‘मुख्यमन्त्री लिएर भए पनि प्रदेश सरकारलाई सघाउन प्रधानमन्त्रीजीले प्रस्ताव गर्नुभयो। मैले पार्टीको चैत २३ र २४ गते बस्ने बैठकले जे निर्णय गर्छ त्यहीअनुसार मात्र अगाडि बढ्ने बताए,’ रेशमले भने। रेशमले अहिलेका पाँच जनै मन्त्रीलाई निरन्तरता दिए सुदूरपश्चिम सरकारमा समर्थन गर्ने विषयमा सोच्न सकिने प्रधानमन्त्रीलाई जवाफ दिएका थिए।

यसैबीच नागरिक उन्मुक्ति पार्टीमा श्रीमान श्रीमतीबीच विवाद भइरहेका बेला रेशम चौधरीले केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन्। चैत २३ र २४ गते बस्ने बैठकले संघ र प्रदेशका विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ। बैठकमा टीकापुरमा हालै सम्पन्न प्रथम महाधिवेशनबाट निर्वाचन केन्द्रीय सदस्यहरूलाई समेत सहभागी हुन आह्वान गरेको महासचिव गंगाराम चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *