ज्यान मार्ने धम्कीले नागरिक उन्मुक्तिमा खैलाबैला, रेशम भन्छन्- आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइसके

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको बताएका छन्। आफूलाई सधैं जेलमा राख्ने नियत बोकेकाहरूले ‘ज्यान मार्ने धम्की’ दिएको भ्रामक कुरा फैलाएको उनको आरोप छ।

अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार विहान सरकारमा जाने नजाने विषयमा सामान्य विवाद भएको उनले प्रष्ट पारे। ‘सरकारमा जाने नजाने विषयमा वादविवाद भएको साँचो हो। महाधिवेशनबाट चुनिएका केन्द्रीय सदस्यहरूले हैसियत पनि खोज्नुभएको साँचो हो। हैसियत खोज्दा वादविवाद भएकै हो। तर, बैठकमै सहभागी भएका साथीहरूले भ्रामक कुरा फैलाउनुभयो। मलाई सधैं जेलमा राख्ने नियत बोकेकाहरूले त्यस्ता भ्रम फैलाइरहेका छन्,’ रेशम चौधरीले भने।

उनले पार्टीभित्रको आन्तरिक विवादले तीन महिनादेखि खाना खान नसकेको बताए। आफूले रोपेको विरुवा काट्न नदिइने उनले प्रण गरे। उनले एमाले-माओवादी गठबन्धनले नागरिक उन्मुक्ति चलाउन खोजेको आरोपसमेत लगाए।

‘तीन महिनादेखि मैले खाना खाएको छैन। आत्महत्या गर्नेसम्म परिस्थितिमा पुर्‍याइसके। एकथरीले केन्द्रीय समितिको निर्णय नमान्ने भन्छ। केन्द्रीय समितिको निर्णय नमान्ने भए पार्टी कसले चलाइराखेको छ? पार्टीमा बाह्य हस्तक्षेप भयो। अहिलेको सरकारले हाम्रो पार्टी चलाउन खोज्यो। यसबारे हामी निर्णय गरेर अगाडि बढ्छौं,’ उनले भने।

उनले पार्टीका संस्थापक अध्यक्षसमेत रहेकी श्रीमती रञ्जिता श्रेष्ठलाई पदीय लोलुपतामा फसेको आरोप लगाए। अर्काको इशारामा चल्ने सबैलाई कारबाहीको चेतावनीसमेत उनले दिए। ‘उहाँमा (रञ्जिता) पदीय लोलुपता धेरै भयो। पार्टीको निर्णय मान्छ भने ठीकै हो। नभए चैत २३ र २४ गतेको बैठकले छानी छानी कारबाही गर्छ। चाहे त्यो पार्टी अध्यक्ष होस् या संरक्षक। गल्ती गर्नेलाई कारबाही हुन्छ,’ उनले भने। उनले चैत बैठकको निर्णय नआएसम्म सुदूरपश्चिम सरकारको समर्थन कायमै रहने बताए।

यता अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर नेताहरूले रेशम चौधरीले हत्या गर्ने धम्की दिएको बताएका छन्। पत्रकार सम्मेलन गरेर उनीहरूले आफूहरूमाथि कुटपिट भएको र चौधरीले हत्या गर्ने धम्की दिएको बताएका छन्। पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण गरेको बताए। पार्टी कार्यालयभित्रै आफूमाथि कुटपिट हुनु र ज्यान मार्ने धम्की आउनुले असुरक्षा बढेको उनको भनाइ छ।

विश्वकर्माले २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बाँडेको र निर्वाचन आयोगमा अध्यावधिकसमेत हुन नसकेको कुरा उठाउँदा पार्टी कार्यालयको सबै ढोका बन्द गरेर आफूमाथि आक्रमण भएको बताए। सुदूरपश्चिम सरकार ढल्यो भने हत्या हुनसक्ने चेतावनी आएको अवस्थामा पार्टीका कुनै पनि नेताहरूको केही घटनामा मृत्यु भए सबै दोष रेशम चौधरीको हुने उनले बताए।

उनले आफूहरूमाथि सुरक्षालाई ध्यान दिनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई अनुरोधसमेत गरेका छन्। आफूहरूमाथि आक्रमण हुँदा पार्टी कार्यालयमा अध्यक्ष रञ्जिता नरहेको र घटना भएको करिब आधा घण्टामा आएकी अध्यक्षलाई सबै जानकारी गराएको विश्वकर्माले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *