अनलाइन ठगी गर्ने चिनियाँ नागरिक वीरगन्जबाट पक्राउ

पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो ।

वीरगन्जको लक्ष्मणवामा बसेर अनलाइनमार्फत ठगी गर्ने २ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिए ।

पक्राउ परेकाहरूसँग आवश्यक अनुसन्धान भइरहेकोले नाम गोप्य राखिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूबाट ७०/८० थान डेस्कटप मोनिटर, करिब २५ थान मोबाइल, ल्यापटपसहितका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ परे चिनियाँ नागरिक

पर्सा प्रहरीको विशेष सूचना सङ्कलन टोलीले केही साता अगाडि चिनियाँ नागरिक वीरगन्जमा आवतजावत गरिरहेको नोटिस गर्‍यो । वीरगन्जमा चिनियाँ नागरिक घुमिरहेको सूचना पाएपछि प्रहरीले आफ्नो सतर्कता बढाएको थियो ।

प्रहरी सक्रियता बढाएसँगै गोप्यरुपमा उनीहरूको निगरानी गर्न थाल्यो । त्यसपछि प्रहरीले फेला पार्यो–उनीहरूको बस्ने घर र कार्यालय । सोही क्रममा प्रहरीले शनिबार साँझ (आज) उनीहरू बस्ने घरमा छापा मार्‍यो । त्यसपछि प्रहरीले लगत्तै कार्यालय सञ्चालन भइरहेको घरमा छापा मारेको थियो । कार्यालयबाट २ चाइनिज नागरिकसहित सामान बरामद गरेको छ ।

वीरगन्जमा पहिलोपटक अन्तर्राष्ट्रिय ठगी धन्दा चलाइरहेको अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गर्न सफलता मिलेको प्रहरीको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकले वीरगन्जमा पूरै घर भाडामा लिएर ठगी धन्दा चलाइरहेका थिए ।
उनीहरुले २ महिनादेखि घर भाडामा लिएर अनलाइन ठगी धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *