१४ गतेको निर्णयबाट पछि हट्दै संस्थापक सदस्यहरू, एक्लिँदै रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ। फागुन २१ गतेपछि बनेको माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक समीकरण अनुसार सरकारमा जाने कि कांग्रेससहितको गठबन्धनमा जाने भन्नमा पार्टीभित्र विवाद चुलिएको हो।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएपछि पाटी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत्र १४ गते कैलालीको टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको बैठक राखेकी थिइन्। सो बैठकले केन्द्रकै गठबन्धन अनुसार जाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर सो निर्णयको पार्टीका एकथरी पक्षले कडा रूपमा विरोध जनायो।

पार्टीका संस्थापक नेता दामोदर पण्डितको साथले टीकापुर बैठकबाट माओवादी एमालेसहितको सत्ता गठबन्धनको सबै तहको सरकारलाई साथ दिनुपर्ने निर्णय गराएकी थिइन्। तर उनै पण्डितले सो निर्णयमा आफ्नो कुनै समर्थन नरहेको भन्दै विज्ञप्ति जारी गरेपछि उनी एक्लिन पुगेकी हुन्।

श्रीमान् र श्रीमती रहेका रेशम चौधरी र रञ्जितालाई मिलाउनको लागि पार्टी नेता पण्डितले टीकापुर बैठकबाट आफूले रञ्जितालाई साथ दिएको र निर्णयमा सहयोग गरेको बताएका छ । तर आफूले उनीहरूलाई मिलाउन नसकेको भन्दै सो निर्णयबाट पछि हटेको पण्डितले बताए।

टीकापुर बैठकमा १२ जना संस्थापक सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा सहभागी पार्टी संस्थापक तथा सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी, अर्का संस्थापक लक्ष्यबहादुर चौधरीले यसअघि नै टीकापुर बैठकको निर्णयमा आफूहरूको सहमति नरहेको घोषणा गरिसकेका छन्। पण्डितले पनि सो निर्णयमा समर्थन नरहेको घोषणा गरेपछि पार्टी अध्यक्ष श्रेष्ठ पार्टीभित्र अल्पमतमा परेकी हुन्। नाउपाका २१ जना केन्द्रीय संस्थापक सदस्य रहेका छन्।

लखन चौधरी/धनगढीबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *