आजदेखि एसईई सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । एसईई बिहान ८ बजेबाट सुरु भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हो ।

यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार ८ सय ६ विद्यालयबाट ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

त्यसमध्ये छात्र २ लाख ५३ हजार ७ सय २७ छन् भने छात्रा २ लाख ५० हजार ७ सय ७२ र अन्य १५ जना सहभागी छन् ।

यसपालि जापानको एउटा विद्यालयबाट २३ नेपाली विद्यार्थी पनि सहभागी भएका छन् । विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षालाई स्वच्छ, व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्न र निर्धक्क रुपमा दिन परीक्षा नियन्त्रण बोर्डले आग्रह गरेको छ ।

देशभरका २ हजार ६४ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन हुँदैछ । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ । एसईईमा २० वटा विषयमा परीक्षा सञ्चालन हुनेछ । यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा हरेकमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *