भारतको सहयोगमा बन्ने क्याम्पस भवनको शिलान्यास

डोटीमा भारत सरकारको सहयोगमा बन्न लागेको क्याम्पस भवनको शिलान्यास गरिएको छ। भारत सरकारको २ करोड ८९ लाख आर्थिक सहयोगमा डोटीको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको लागि निर्माण गरिने भवनको शिलान्यास गरिएको हो।

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्तरूपमा शिलान्यास गरेका हुन्। ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग विभिन्न सुविधाहरुसहितको दुई तल्ले क्याम्पस भवनको निर्माणका लागि उपयोग गरिएको दूतावासले जनाएको छ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो र बडीकेदार गाउँपालिका, डोटीमार्फत कार्यान्वयन गरिएको हो। कार्यक्रममा बोल्दै बडीकेदार गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

भारतीय दूतावासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा ४ वटा परियोजना डोटीमा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *