प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्ने सात पार्टीको घोषणा

विभिन्न ७ वटा पार्टीले एमाले-माओवादी गठबन्धनविरुद्ध उभिने भएका छन्। उनीहरूले औपचारिकरूपमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन्। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदहरूलाई ह्वीपसमेत जारी गरेका छन्।

प्रधानमन्त्री दाहालले बुधबार बस्ने प्रतिनिधिसभामा विश्वसाको प्रस्ताव पेस गर्दैछन्। उक्त विश्वासको प्रस्तावमाथि मतदान हुने दिन अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न कांग्रेसका प्रमुख सचेतक लेखकले ह्वीप जारी गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमाले-माओवादी गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले-माओवादी गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। कुनै पनि प्रदेश सरकारमा तत्काल सहभागी नहुने निर्णयसमेत राप्रपाले गरेको छ।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले एमाले-माओवादी गठबन्धनमा नजाने घोषणा गरेका छन्। कान्तिपुरको फायरसाइडमा उनले वर्तमान गठबन्धनमा नजाने र प्रधानमन्त्रीलाई विश्वासको मतसमेत नदिने घोषणा गरेका हुन्। उनले मधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा सहमति नभएसम्म समर्थन दिनेबारे नसोचेको प्रस्ट पारेका छन्।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि तत्काल सरकारमा नजाने घोषणा गरिसकेका छन्। पार्टीका संरक्षक रेशम चौधरीले पत्रकार सम्मेलन आयोजना गरेरै एमाले-माओवादी गठबन्धनमा नजाने घोषणा गरेका हुन्।
टीकापुरमा सोमबार बसेको संस्थापक सदस्यहरूको बैठकले सुदूरपश्चिममा मुख्यमन्त्री माग गर्ने निर्णयसमेत गरेको छ। त्यसका लागि उसले संस्थापक उपाध्यक्ष दामोदर शर्मा पण्डितको संयोजकत्वमा रामलाल थारू र रमेश विश्वकर्मा सदस्य रहनेगरी वार्ता टोली बनाएको छ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मन्त्रिपरिषद् गठनमै आपत्ति जनाउँदै प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएका छन्। उनले प्रधानमन्त्रीको कदमप्रति गम्भीर ध्यानार्षणसमेत जनाएका छन्। यता आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने भएका छन्।

कांग्रेसका ८७, राप्रपाका १४, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र आम आदमी पार्टीका १ गरी ११७ सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने भएका हुन्। यो संख्या बढ्ने अनुमानसमेत गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *