रेशम चौधरीले भने- लालच लिएर मन्त्रालय नधाउनुस्, सरकार राजनीतिक पाठशाला हो, छाड्दैनौं

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले कसैले भन्दैमा सरकार नछाड्ने बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष चौधरीले सरकार पनि राजनीति सिक्ने पाठशाला भएको बताए।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालजस्तो विवेक गुमाउने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ छ। ‘धेरै साथीले केही गर्न सकेनौं भने सरकारबाट फिर्ता होउ भन्छन्। तर, रेशम चौधरीको विवेकले भन्छ, सरकार पनि एउटा राजनीतिक पाठशाला हो। यहाँ बसेर धेरै कुरा सिक्न सकिन्छ। त्यसैले सरकार छोडिहाल्ने पक्षमा छैनौं,’ उनले भने, ‘आवेगमा आएर हालका प्रधानमन्त्री प्रचण्डले त्यसबेला गल्ती नगरेको भए सायद अहिले उहाँको पार्टीको अवस्था अर्कै हुन्थ्यो।’

गठबन्धनमा अन्याय हुँदा पनि इमान्दार भएर बस्नुको विकल्प नरहेको उनले सन्देशमा भनेका छन्। ‘राष्ट्रियसभा निर्वाचनमा हामीलाई छुटाउन मिल्दैनथ्यो। तर, आफ्नै गठबन्धनमा अन्याय हुँदा पनि टुलुटुलु हेरेर बस्नुको विकल्प छैन। चोट लागे पनि धैर्यवान बन्नैपर्छ। हाम्रो साथ र विश्वास गठबन्धनलाई छ। हामी इमान्दारितापूर्वक भूमिका निभाउँछौं,’ उनले भने।

उनले आफूहरू सरकारमा रहेर कमैया र सुकुम्बासीको समस्या समाधान गर्ने बताए। ‘मेरो पनि दृढ संकल्प छ, कमैया, सुकुम्बासीलाई बास र गुठी पीडितलाई लालपूर्जा दिएरै छाड्छौं। त्यति नि गर्न सकेनौं भने हामी केही गर्न सक्दैनौं,’ उनले भने। उनले आफूहरू नविन पालुवा भएका प्रष्ट पारे। त्यसैले कस्तो पालुवा पलाउँछ भन्ने वैज्ञानिकले पनि पुष्टि गर्न नसकेको उनको भनाइ छ।

उनले आफ्ना नेता-कार्यकर्तालाई पदको लोभमा नपर्न र लालच लिएर मन्त्रालय नधाउन आग्रह गरे। ‘लोभ र लालचका दृष्टिले मन्त्रालय धाउन बन्द गर्नुस्। मन्त्रीसँग गिडगिडाएर मेरो काम गरिदिनुस् भनेर आफ्नो शीर ननिहुर्‍याउनुस्। पार्टीमा पदको भागबण्डा नगर्नुस्, लुछाचुँडी नगर्नुस्,’ उनले भने।

उनले राज्यसँग थुप्रै असन्तुष्टि रहे पनि धैर्यताका साथ राज्य सञ्चालन गर्नुपरेको दुखेसो पोखे। ‘हाम्रा असन्तुष्टि थुप्रै छन्। राज्य सञ्चालन गर्दा धैर्यता पनि उतिकै चाहिँदो रहेछ। मलाई जेलले गम्न सिकाएको छ। जेल एउटा यस्तो युनिभर्सिटी हो, जहाँ राजनीतिक परिपक्वताको सर्टिफिकेट पाइन्छ। जेलले मलाई घोत्लिन सिकाएको छ। घोरिन सिकाएको छ र नतिजा निकाल्न सिकाएको छ,’ उनले भने।

सुदूरपश्चिममा ७ सिट जितेपछि ठूला भनिएका दलहरू सबै सम्झौतामा हस्ताक्षर गर्न तयार भएको बताउँदै उनले माग पूरा गराउन जनमत चाहिने बताए। भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समाजमा आधारित समाजवादलाई हामी प्रतिस्थापन गर्न तत्पर रहेको बताउँदै उनले यसले नेपाललाई सगरमाथाभन्दा माथि पुर्‍याउने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *