थारू साहित्य सम्मेलनमा रामसागर चौधरी र शान्ति चौधरी सम्मानित

सुनसरीको गढीमा आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सुरु भएको छ। गढी गाउँपालिकास्थित गढी वन सामुदायिक भवनमा सुरु भएको थारू राष्ट्रिय साहित्य सम्मेलनको उद्घाटन एमाले नेतृ एवं सांसद भगवती चौधरीले गरिन्। उनले साहित्य र संस्कृतिको जगेर्ना र विकासका लागि आफू गम्भीर रहेको बताउँदै कला, संस्कृति र साहित्यको संरक्षणमा आफ्नो सहयोग र सहकार्य रहने प्रतिवद्धता गरिन्।

भोलिसम्म चल्ने साहित्य सम्मेलन हौली परिवार मोरङ र थारू लेखक संघको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठान र गढी गाउँपालिकाको सहकार्यमा सुरु भएको हो। सम्मेलनमा थारू साहित्य पुरस्कारबाट सुनसरीका रामसागर चौधरी सम्मानित भए भने थारू महिला प्रतिभा सशक्तिकरण पुरस्कारबाट बाराकी शान्ति चौधरी सम्मानित भइन्। उनीहरूलाई ३० हजार र १५ हजार नगदसहित सम्मान गरिएको थियो।

सम्मेलनमा आज तीन सेसनमा छलफल गरिएको थियो। स्थानीय निकायमा थारु केन्द्रीय विकास योजना, मानक थारू भाषा कार्यान्वयनको अवस्था र थारू कविताको अवस्थाका विषयमा बहस गरिएको हो।

त्यस्तै भोलि थारू साहित्यमा अनुवादको अवस्था, मोरङ सुनसरीमा थारू साहित्यको अवस्था र थारू समुदायको इतिहास धर्म संस्कृतसम्बन्धी शीर्षकमा बहस हुने आयोजनकले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *