अध्यक्ष बनेकोमा रेशम चौधरीलाई प्रधानमन्त्रीले दिए बधाई, भयो महत्वपूर्ण छलफल

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो।

पार्टीको प्रथम महाधिवेशनबाट अध्यक्षमा निर्वाचित बनेका चौधरीलाई प्रधानमन्त्री दाहालले सफल कार्यकालको शुभकामना दिएका थिए। पार्टीको अध्यक्ष चयन भएपछि आउनसक्ने कानुन जटिलताका विषयमा पनि उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको छ।

टीकापुर घटनामा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरीलाई नैतिक पतन देखिने भन्दै अध्यक्ष बन्न नसक्ने तर्कहरू सार्वजनिक भइरहेका छन्। निर्वाचन आयोगले यसअघि नै अद्यावधिकका लागि निवेदन आएपछि यस विषयमा मन्त्रिपरिषद्लाई पत्र काट्ने जानकारी दिइसकेको छ। मन्त्रिपरिषद्‍बाट कस्तो खालको प्रतिक्रिया आउने विषयमा पनि अध्यक्ष चौधरीले चासो राखेको स्रोतको भनाइ छ। यद्यपि प्रधानमन्त्री दाहालले यस विषयमा एकीन जवाफ नदिएको बालुवाटार स्रोतको भनाइ छ।

अध्यक्ष चौधरीले मधेस-थरुहट आन्दोलनका विषयमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए। टीकापुर घटनाको यथार्थ प्रतिवेदनमै खुलेको भन्दै उनले प्रधानमन्त्री दाहाललाई सार्वजनिक गर्न दाबाब दिएका थिए।

अध्यक्ष चौधरीले भने समसमायिक विषयवस्तुमा छलफल भएको बताए। उनले टीकापुर विमानस्थल निर्माण र पार्टीले पाएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको कामकारबाहीबारे चर्चा गरेका थिए। रेशम पत्नी रञ्जिता श्रेष्ठ भूमी व्यवस्था मन्त्री रहेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *